स्याङ्जा सिरुबारी होमस्टे को राजधानी भनेर विदेशमा समेत प्रख्यात

स्याङ्जा, २ पुष । स्याङ्जा जिल्लालाई घरबास (होमस्टे) को राजधानीको रुपमा विकास गर्ने अभियानले गति लिएको छ । स्याङ्जाका ११ स्थानीय तहमध्ये २० वटामा घरबास कार्यक्रम सञ्चालित छ । स्याङ्जामा दक्षिण एशियाकै पहिलो सामुदायिक घरबासदेखि लिएर नयाँ नयाँ घरबास कार्यक्रम सञ्चालन भैरहेका छन् । 

सिरुबारीबाट शुरु भएको घरबास कार्यक्रमबाट प्रभावित भएरै जिल्लाका अन्य स्थानहरुमा पनि घरबास कार्यक्रमलाई अभियानकै रुपमा विकास गर्दै लगिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताएका छन् ।

देशभर १०० गन्तव्यको सूचीमा पर्न सफल मध्येको एक गन्तब्य हो सिरुबारी । दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास सिरुबारी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल हो । स्याङ्जाको आँधीखोला गाउँपालिकाको १ नं वडामा रहेको सिरुबारी गाउँ देशमा मात्रै नभएर विदेशमा समेत प्रख्यात छ ।

सिद्धार्थ राजमार्गको नाउँडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै सिरुबारी पुग्न सकिन्छ । यस ठाउँमा आउने पर्यटकलाई गरिने स्वागत तथा अन्य व्यवस्थापन अरु होमस्टेको तुलनामा राम्रो रहेको सिरुबारी पर्यटन तथा व्यवस्थापन विकास समितिका संयोजक जुमबहादुर गुरुङले बताएका थिए ।

गत आर्थिक वर्षमा मात्रै सिरुबारीमा दुई हजार ३०० भन्दा बढी नेपाली र ५०० भन्दा बढी विदेशी पर्यटक आएको अभिलेख छ ।

“सिरुबारी दक्षिण एशियाकै पहिलो सामुदायिक होमस्टे भएकै कारण पनि कतिपय पाहुनाहरु यहाँको ब्यवस्थापन पक्ष बुझ्न आउनुहुन्छ,” संयोजक गुरुङले भने – “कतिपय पर्यटकहरु यहाँको स्वागत तथा स्थानीय खानाका परिकारहरुमा रमाउन आउने गर्नुहुन्छ ।” उनानचालीस घरबाट शुरु भएको घरबास हाल २२ घरमा सञ्चालित छ र त्यहाँ १०० को हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत गर्ने गरिन्छ ।

स्याङ्जा जिल्लामा तुलनात्मक रुपमा गुरुङ समुदायमा आधारित घरबास धेरै छन् । त्यस्तै, गुरुङ समुदायमै आधारित सुन्तलाबारी सामुदायिक घरबास वालिङ नगरपालिका ४ नं वडामा पर्छ । बत्तीस घरधुरी रहेको सुन्तलाबारीमा ३० घर गुरुङ समुदायका र दुई घर ब्राह्मण समुदायका छन् । सुन्तलाबारी सामुदायिक घरबासका अध्यक्ष क्याप्टेन डिलबिक्रम गुरुङका अनुसार यहाँ १२ घरमा घरबास सञ्चालित छ र कुल शय्या क्षमता ४० छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ नगरपालिका–१ को त्रियाशीबाट करीब सात किलोमिटरको दूरी पार गरेपछि यस स्थानमा पुग्न सकिन्छ ।

सुन्तलाबारी सामुदायिक घरबास विशेष गरी सुन्तलाको हाइटेक नर्सरीका लागि प्रख्यात छ । यस ठाउँमा कात्तिकदेखि माघसम्म निक्कै आनन्ददायी वातावरण हुन्छ । बारीभरि ढकमक्क सुन्तला पहेँलै देखिँदा पाहुनाको मन आल्हादित हन्छ भने यहाँका स्थानीय बासिन्दाले गर्ने स्वागतले झनै सुनमाथि सुगन्ध थपिदिन्छ ।

“यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि हामीले गाउँ प्रवेश हुने ठाउँमा प्रवेशद्वार निर्माण गरेका छौं,” समितिका सदस्य सीता गुरुङले भनीन् – “गुरुङ समुदायको वेशभूषा झल्किने गरी हामीले पर्यटकलाई फूलमालाले स्वागत गर्छौं र सबैलाई सामुदायिक भवनमा ल्याएर चियापानी र स्थानीय गुन्द्रुक रोटी नास्ताका रुपमा खान दिन्छौं ।”

पाहुनाको मागअनुसार यहाँ स्थानीय खानाका परिकारहरु पाक्ने गर्दछ । यहाँको विशेषतामा सख्खरको खिर, ढिंडो, सिस्नोको अचार, स्थानीय कुखुराको मासु, अण्डा लगायतका परिकारद्वारा पाहुनालाई स्थानीय स्वाद पस्किन्छ । गुरुङ समुदायमा आधारित घरबास भएकाले पनि यहाँ बाबा समूहले रामायणमा आधारित पुराना नाच, आमा समूहले पुरानो सालैजो गीत र भाउजू समूहले ढिलो र छड्के भाकाहरुमार्फत पाहुनाहरुलाई छमछमी नचाउने गर्छन् ।

स्याङ्जाको फेदिखोला–५ मा रहेको छ बौद्ध तमु सामुदायिक घरबास । सिद्धार्थ राजमार्गको खड्केटारीबाट ७ किलोमिटर कच्ची बाटो पार गरेपछि यहाँ पुग्न सकिन्छ । पन्ध्र घरमा ९० जना राख्न सकिने यो घरबास आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल हो ।

“आन्तरिक तथा बाह्य गरेर जिल्लामा ५० हजार भन्दा बढी पर्यटकहरु वर्षेनी आउँछन्,” जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले भनेका थिए  ।

source : pokharanews

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top