जयगान राक्षसी प्रवृत्तिमाथि प्रहार

पोखरा, आकाशमा पनि होइन, धर्तीमा पनि होइन, अपरिचित भूमि छ । दानवी स्वभाव र प्रवृत्तिमाथि पात्रहरु लडिरहन्छन् । दुःख भोग्छन्, यातना सहन्छन्, मृत्यु स्वीकार्छन् । तर मानवतालाई विजयी गराउँछन् । यस्तो जटिल र प्रयोगवादी नाटक जयगान पोखरेली रंगमञ्चमा प्रदर्शन हुँदै छ । ओथेलो नाटक समूहले पुस ६ र ७ गते पोखरा उद्योग वाणिज्य संघमा नाटक प्रर्दशनको तयारी गरिरहेको छ । निर्देशन र लेखनमा सिद्धहस्त कृष्ण उदासीको नाटक जयगानलाई यसपालि आशीष अधिकारीले निर्देशन गरेका छन् । नाटकमा अभिनयसमेत गरेका निर्देशक अधिकारी समूहका अध्यक्ष समेत छन् ।

नाटकमा देवेन्द्र पुन मगर, सबु पाठक, शिवानी कुँवर, सुमन कार्की, सृष्टि केसी, सर्जम, सुष्मिता लगायतको अभिनय देख्न पाइनेछ । समूहलाई पोखराका रंगमञ्चका अनुभवी व्यवस्थापक हेमन्त हितैषीले व्यवस्थापनमा साथ दिएका छन् । नाटकमा प्रयोग भएको कोरस निकै भिन्न छ । यसमा जंगली जनावर वाघ, बाँदरका प्रवृत्ति पनि देखाइएको छ । समूहका अध्यक्ष अधिकारी नाटकलाई पोखरेलीले मन पराउनेमा विश्वास्त छन् । उनी भन्छन्, ‘जटिल र प्रयोगवादी नाटकलाई निकै मेहनत गरी देखाउने तयारी गर्दै छौं । सबैको साथ मिल्ने अपेक्षा छ ।’

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top