अमेरिकी प्रोफेसर डग चेसम्यान चरा हेर्नका लागि फेवातालमा

पोखरा, २६ मंसिर l

   पेशाले उनी जुलोजी, इकोलोजीका प्रोफेसर। उमेर ८१ वर्ष। सानै उमेरदेखि प्रकृति र चरा प्रेमी यी अमेरिकी प्रोफेसर डग चेसम्यान (Doug Cheeseman नेपालका चरा हेर्नका लागि अमेरिकादेखि नेपाल आएका हुन्।

उनीसँगै उनकी श्रीमती ७९ वर्षीया गील चेसम्यान (Gail Cheesman) पनि चरा हेर्न नेपाल आएकी हुन्। उनी पनि प्रकृति भने पछि हुरुक्‍कै हुन्छिन्। चरा प्रेमी श्रीमानको साथमा उनी पनि यतिबेला दुरवीनको सहयोगमा टाढाका चरा हेर्दै रमाउँदै छन् पोखरामा।

उनका श्रीमान भने नयाँ चरा देख्ने बित्तिकै क्यामराको लेन्स चरा तिर सोझाउन पुग्छन्।यो जोडी पोखराको फेवाताल किनारमा चरा गाइड हरि केसीको साथमा चरा अवलोकन गर्दै छन्। 

पहिलो पटक नेपाल आएका गील जोडीले चराको अवलोकनका साथै पोखराबाट देखिने अन्नपूर्ण हिमालय श्रृंखला, फेवाताल लगायतका प्राकृतिक विविधतादेखि निकै प्रभावित भएको बताए।प्रकृतिको सुन्दरतालाई जोगाउन नसकेकोमा भने उनी चिन्तित छन्। 

फेवातालको किनारमा फोहोरको डंगुर देखेर उनी नरमाइलो मान्दै थिए। यति सुन्दर फेवातालमा प्लाष्टिक, र ढल मिसाएको देख्दा निकै दुःख लागेको उनले सुनाए। पोखरा बजार हुँदै तालमा मिसिन पुगेको फिर्के खोला जोडिएको फेवाताल किनारमा उनी चरा हेर्दै थिए।

त्यस क्षेत्रमा खोलाले बगाएर ल्याएका प्लाष्टिक जन्य फोहोरको डंगुरले ताल नै पुरिँदै गएको छ। पर्यटकलाई फेवातालमा पाइने चरा देखाउन ल्याउँदा सबै पर्यटकको एउटै गुनासो हुन्छ, ‘खै यति सुन्दर ताल सरसफाइ गरेको’ चरा गाइड ६४ वर्षीय केसीले सुनाए।

ताल प्लाष्टिकजन्य फोहोरले मात्र होइन मुहानबाट गेग्रयानले समेत पुरिएर वर्षेनी सानो आकारमा खुम्चिदै गएको छ। यस्तै कारणले गर्दा जाडो छल्न फेवातालमा साइबेरीयादेखि आउने चराको प्रजाती र संख्या पनि घट्दै गएको उनले बताएका छन्। 

पहिले जाडो छल्न फेवातालमा २९ प्रजातिक चरा आउने गर्दथे ।अहिले भने त्यो संख्या घटेर ७ प्रजाती मात्र आउने गरेको सन् १९७८ देखि लगातार पर्यटकलाई चरा चिनाउँदै आएका पोखराका चरा विज्ञ केसीले जानकारी दिए।

पहिलो सगरमाथा आरोहण गर्ने तेन्जीङ शेर्पाका छोरी तर्फका नातिको सिफारिसमा अमेरिकी जोडीसँग सम्पर्क भएर चरा देखाउने अवसर पाएको पनि उनले बताएका छन्।

पोखराका विभिन्न स्थानमा चरा अवलोकन गर्दा दुई दिनमा ९१ प्रजातीका चरा देखाएको उनले सुनाए। पोखराको रानी वन, फिष्टेल गाडेन, फेवातालको सिमसार, सराङ्कोट, नौडाँडा, छिनेडाँडा लगायतका क्षेत्रमा धेरै प्रजातीका चरा पाइन्छन् ।

यो जोडीले बर्दिया राष्ट्रिय निकुञ्ज र चितवन राष्टिय निकुञ्जमा पनि चरा र जंगली जनावरको अवलोकन गरेको छ।बर्दियामा पाटे बाघ समेत देखेकाले अमेरिकी जोडी निकै खुशी भएको छ। 

पोखरामा विभिन्न प्रजातीका चराको अवलोकन गरेका चेसम्यानले चरा हेर्न नेपालमा अरु चरा प्रेमीलाई पनि लिएर अर्को वर्ष पनि आउने बताएको चरा गाइड केसीले सुनाए।

source:annapurnapost

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top