स्याङ्जा फेदीखोला र आँधिखोलाको तरकारी पोखरेली बजारमा

स्याङ्गजा,२४ मंसिर । आरुखर्कका किसान शिव सुवेदीलाई गाउँमा उत्पादित तरकारी कहाँ लगेर बेच्ने भन्ने सधैं चिन्ता हुन्थ्यो । उनी स्याङ्जाकै पुराना किसान मानिन्छन् । गाउँबाट तरकारी पोखरा ल्याएर नबिकी फर्काउनु पर्दाका थुप्रै दुखद अनुभव उनीसँग छन् ।

आँधिखोलाका किसान सुरेश पौडेलका अनिभव पनि सुवेदीका जस्तै छन् । व्यावसायिक तरकारी खेती गरेर पनि बजार र मूल्यको समस्याले उनी निकै पिरोलिन्थे । अब भने उनीहरुको चिन्ता र समस्या दुर भएको छ । स्याङ्जाको फेदीखोला र आँधिखोला गाउँपालिकाका अब किसानको कृषि उपज अब सिधै पोखरेली बजारमा गाउँपालिकाले नै बिक्रीको व्यवस्था मिलाएको छ ।

पोखरादेखि नजिक रहेका यी दुई गाउँपालिकाले पोखराको बिरौटामा तरकारी संकलन तथा बिक्री केन्द्र सोमबारदेखि सञ्चालनमा ल्याएको हो । अब फेदीखोला र आँधिखोला गाउँपालिका भित्रका किसानले बजार र मूल्यको चिन्ता लिनु नपर्ने भएको छ । गाउँपालिकाका विभिन्न ठाउँबाट कृषि उपज सिधैं पोखराको बजारमा आइपुग्ने व्यवस्था गरिएको हो ।

‘गाउँका अर्गानिक तरकारी सिधैं पोखरा ल्याएर संकलन तथा बिक्रीको व्यवस्था गाउँपालिकाले जिम्मा लिएको छ,’ आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले भने, ‘अब किसानले तरकारी नबिक्ने कुनै चिन्ता हुने छैन, मूल्यका हिसाबले पनि किसानले बढी मूल्य प्राप्त गर्नेछन् ।’

अहिले गाउँपालिकाले सहकारीमार्फत गाउँका तरकारी संकलन गरी पोखरा ल्याउने र त्यसको बिक्रीको व्यवस्था गर्ने काम गरेको छ ।

गाउँपालिकाले गाडी अहिले भाडा लिएर तरकारी पोखरा पुर्‍याउने व्यवस्था मिलाएको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । ‘हाम्रा गाउँपालिका तरकारी पोखरासम्म ल्याउने र यहाँबाट अन्य ठाउँमा पनि पुर्‍याउने व्यवस्था मिलाएका छौं,’ अध्यक्ष सुवेदीले भने, ‘यसले किसानलाई उत्साह बढाएको छ भने तरकारी नबिक्ने चिन्ता हटाएको छ ।’

फेदीखोलाको सर्केटारी र आँधिखोलाको सेती दोभानमा तरकारी संकलन गरी पोखरा ल्याउने व्यवस्था मिलाइएको छ । यी दुई गाउँपालिकाको मुख्य व्यापारिक बजार नै पोखरा हो । बिचौलियाका कारण किसानले खेप्नु पर्ने समस्या र कम मूल्यमा बेच्नुपर्दाको चिन्ता पनि अब हटेको आँधिखोलाका अध्यक्ष सुधीर बताउँछन् ।

दुई गाउँपालिकाले पोखरा बिरौटामा सटर भाडामा लिएर तरकारी संकलन तथा बिक्री थालेको हो । सटरबाट उपभोक्ताले सिधै बारीबाट ल्याइएको ताजा तरकारी खान पाउने छन् । फेदीखोलाको २ र ४ अनि आँधिखोलाको ४ र २ नम्बर वडा तरकारी उत्पादनका हिसाबले अब्बल छन् ।

अब गाउँका तरकारीमात्रै नभएर सुन्तला, अदुवा, कफी पनि एकै ठाउँबाट बिक्री हुने भएपछि किसान उत्साहीत छन् । स्थानीय ठगीकुमारी पौडेलले यसपालीमात्रै ५० हजार रुपैयाँको अकबरे खुर्सानी बिक्री गरिन् । अब घरबबाटै खुर्सानी बिक्री हुने भएपछि अहिले अझै बढी खुर्सानी लगाउँदै छिन् । ‘अब न त नबिक्ला भन्ने समस्या भयो न त मूल्य नपाइएला भन्ने,’ ठगीकुमारी भन्छिन्, ‘म त यतिबेला धमाधम अकबरे खुर्सानीको बेर्ना उमारिरहेकी छु ।’

यी दुई गाउँपालिकाले तरकारी बिक्रीको व्यवस्थामात्रै मिलाएको छैन । किसानलाई प्रोत्साहनका कार्यक्रम पनि ल्याएको छ । कृषिलाई समृद्धिको आधार मान्ने हो भने किसान प्रोत्साहनका कार्यक्रम ल्याउनै पर्ने योजनाअनुसार अघि बढेको आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले बताए ।

‘हामीले किसानलाई व्यावसायिक खेतीमा अनुदान प्रदान गर्नेदेखि बिऊ, प्राविधिक सहयोग र प्राविधिक उपकरण उपलब्ध गराउनेसम्मका काम गरिरहेका रहेको  पौडेलले बताए 
।  उत्कृष्ठ किसानलाई हामी सम्मान गर्ने कुरा पनि उनले बताए ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जमिन बाँझो राख्नेलाई निरुत्साहित गर्दै जमिनको व्यावसायिक उपयोग गर्नेलाई सहयोग साथ दिने नीति लिइएको बताए । ‘किसानलाई प्रोत्साहनका विभिन्न कार्यक्रम त छँदै छन्, त्यो सँगै कुन ठाउँमा के खेती हुन्छ त्यसको पहिचान गरेर जोन निर्माण गर्ने प्रयत्नमा हामी छौं,’ सुवेदीले भनेका छन् ।

source:onlinekhabar

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top