बागलुङमा व्यवसायीको चुनावी सरगर्मी ! नेकपा र काँग्रेसका उमेद्वार चुनावी मैदानमा

बागलुङ, २० मङ्सिर  । बागलुङ उद्योग वाणिज्य संघको ५५ औं साधारणसभा तथा १७ औं महाधिवेशनको मिति नजिकिदै गर्दा व्यापारीहरुको चुनावी सरगर्मी बढेको छ ।

संघको आगामी तीन वर्षे नयाँ नेतृत्वका यही मंसिर २१ र २५ गते हुने साधारणसभा तथा महाधिवेशनको लागि दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिएका छन् । नेतृत्वको लागि वर्तमान कार्यसमितिका महासचिव दयाराम पौडेल र वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

संघको नेतृत्व लिन उद्योगी व्यवसायीहरूले राजनीतिक दलमा आबद्धताको हिसाबले नै दुई फरक प्यानल बनाएर चुनावमा उत्रिएका छन् । संघमा अहिले राजनैतिक दलहरुको प्रत्यक्ष संलग्न देखिएको छ । पौडेल नेकपासँग आवद्ध रहेका छन् भने राजभण्डारी काँग्रेससँग आवद्ध छन् । राजभण्डारीको लागि अहिले नेपाली काँग्रेससँगै राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र राप्रपाले समर्थन गरेका छन्भने पौडेलको लागि नेकपाले सहयोग गरेको छ ।

दुवै प्यानलका उम्मेदवारले अहिले सामाजिक सञ्जालमार्फत र संघका सदस्य मतदातासँग भेटेर आफू र प्यानलको पक्षमा मत माग्न सुरु गरिसकेका छन् ।
व्यवसायिक हित, बागलुङको व्यवसायीक प्रवद्र्धन र कर समायोजनको लागि आफुले उम्मेदवारी दिएको दयाराम पौडेलले बताउनुभयो । पौडेलले संघको नेतृत्वले व्यवसायीको हक हितमा काम गर्ने भएकाले व्यवसायीहरुलाई राजनितीक र जातिय पक्षमा नलाग्न अनुरोध गर्दै स्वतन्त्र हिसावले भोट गर्न अनुरोध गरेका छन् । पौडेलले व्यवसायीहरुलाई स्थानिय तहहरुले चर्को कर लगाएका कारण आफुले उक्त कर समायोजनको लागि अहिले पनि पहल गरेको र निर्वाचित भएपछि पनि कर घटाउनको लागि जोडदार माग गर्ने बताउनुभयो ।

अध्यक्षका अर्का उम्मेदवार युवराज राजभण्डारीले व्यवसायिक हितको लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । राजभण्डारीले बागलुङमा महोत्सव हुँदै आएपनि बजारका व्यापारीहरुलाई सन्तोष नभएको बताउँदै आफुले महोत्सव गर्दा सवै राजनीतिक दल, विषयगत व्यवसायीलाई राखेर सल्लाह गरेर फाईदा पुग्ने व्यापार गर्ने बताउनुभयो ।

अध्यक्षका दुवै उम्मेदवारले अहिले आफ्नो प्रतिवद्धता तथा योजनाहरु बनाएर व्यवसायीहरुसँग भोट मागिरहेका छन् । दयाराम पौडेलले १९ ओटा प्रतिवद्धताहरु र राजभण्डारीले १७ ओटा प्रतिबद्धता पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरिसकेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top