१५ औं लेखनाथ महोत्सवको तयारी

लेखनाथ, २० मङ्सिर । लेखनाथ उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस ५ गतेदेखि १६ गतेसम्म १५ औं लेखनाथ महोत्सव हुने भएको छ । आज लेखनाथमा आयोजित पत्रकार सम्मेलनमार्फत् महोत्सवका बारेमा जानकारी गराइएको हो ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ हुने महोत्सवका सहआयोजकहरुमा गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश रहेका छन् भने प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड र मुख्य प्रायोजकमा एड्भान्स ग्रुपको एड्भान्स सिमेन्ट रहेको संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णहरि भण्डारीले जानकारी दिनुभयो ।

औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरणको उद्देश्यले महोत्सवको आयोजना गरिएको संयोजक भण्डारीले बताउनुभयो । संयोजक भण्डारीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभूषा, कला, संस्कृति, रीतिरिवाजको जगेर्नामा टेवा पु¥याउने साथै, आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

आयोजकका अनुसार महोत्सव सम्पन्न गर्न अध्यक्ष भण्डारीको संयोजकत्वमा १३३ सदस्यीय कार्यसम्पादन समिति, ८ सदस्यीय निर्देशक समिति, २५ सदस्यीय सल्लाहकार समिति र ४० वटा उपसमितिहरु निर्माण गरिएको छ । पोखरा–२७, तालचोक, डाँडाकोनाकमा हुने महोत्सवमा कुल ३५० स्टल रहने र त्यसमध्ये ७५ प्रतिशत स्टल बुकिङ भइसकेको संघका उपमहासचिव एवं प्रचारप्रसार उपसमिति संयोजक गोपीचन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।

महोत्सवमा आयोजना गरिने खुल्ला कविता प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः १५ हजार, १० हजार, ७ हजार र ३ हजार, विद्यालयस्तरीय एकल नृत्य प्रतियोगितातर्फ क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार दुई जनालाई, गायन विधाको गण्डकी तारामा क्रमशः ५० हजार, ३५ हजार, २० हजार र १० हजार, रत्यौली गीत प्रतियोगितातर्फ क्रमशः ३० हजार, २२ हजार, १५ हजार र ७ हजार ५ सय, उत्कृष्ट लुठोमा २ हजार ५ सय र उत्कृष्ट नृत्यमा २ हजार ५ सय, झाँकी ¥याली तथा भेषभूषा प्रदर्शनीतर्फ क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजार (२५ वटा समूहलाई), उत्कृष्ट सांस्कृतिक प्रदर्शनीतर्फ १५ हजार पुरस्कार राखिएको बाँस्तोलाले बताउनुभयो ।

प्रचार संयोजक बाँस्तोलाका अनुसार महोत्सवका अन्य आकर्षणहरुमा शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, लाइभ म्यूजिक कन्सर्ट, आदिवासी जनजाति संस्कृति प्रदर्शनी, ख्यातीप्राप्त राष्ट्रियस्तरका कलाकारहरुको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सवलगायत रहेका छन् । महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गर्ने र १५ देखि २० करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरेको बाँस्तोलाले बताउनुभयो ।

त्यस्तै, महोत्सवको अनुमानित आम्दानी १ करोड २५ लाख, अनुमानित खर्च ९० लाख र अनुमानित बचत ३५ लाख रुपैयाँ रहेको छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि ६०, विद्यार्थी परिचयपत्रका आधारमा ४०, कन्सर्टका लागि १०० र स्थायी प्रवेश पास शुल्कका लागि २ सय ५० रुपैयाँ शुल्क तोकिएको बाँस्तोलाले जानकारी दिनुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top