चितुवाको आक्रमणबाट बच्न क्यामरा ट्र्यापिङ जडान

तनहुँ, १९ मंसिर l  तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि क्यामरा ट्र्यापिङ जडान गरिएको छ । नरभक्षी चितुवाको निगरानीका लागि चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकले राष्ट्रिय प्रकृति संरक्षण कोषको डार्टिङ प्रविधिसहितको चार वटा क्यामरा ट्रयापिङ जडान गरेका हुन् ।

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले चितुवा हिँड्न सक्ने चार स्थानमा क्यामरा ट्रयापिङ जडान गरिएको जानकारी दिए । उनका अनुसार क्यामरा ट्रयापिङबाट चितुवाको गतिविधि पत्ता लगाउन सकिन्छ । “यो प्रविधिबाट चितुवा कता गइरहेको छ भन्ने पत्ता लगाउन सकिन्छ”, उनले भने । नगरपालिकाको ढल्केवर, पाउदुरे खोला, तिलानकोटे जङ्गल र रिठ्ठाबोटे गाउँमा क्यामरा ट्रयापिङ जडान गरिएको छ ।

यसैबीच नरभक्षी चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय तनहुँले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वन रक्षकलगायतलाई परिचालन गरिरहेको छ । प्रहरीलाई स्थानीयबासीले समेत साथ दिएका छन् । नगरपालिका–२ का वडाध्यक्ष अर्जुन केसीले वडाभित्रका प्रत्येक घरधुरीका एक-एक जना चितुवालाई नियन्त्रणमा लिनका लागि घरेलु हतियारसहित खटिएको जानकारी दिएका छन् ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top