यु – २१ ब्याडमिन्टनमा भारतको दवदवा, भारतलाई छ स्वर्ण पदक

१७ मंसीर l     

काठमाण्डौमा सम्पन्न दक्षिण एशियाली यु – २१ ब्याडमिन्टन च्याम्पियनसिपमा भारतले आफ्नो दवदवा कायम राख्यो । नेपाल ब्याडमिन्टन संघको आयोजना तथा ब्याडमिन्टन एशियाको बिकास कार्यक्रम अन्तरगत भएको च्याम्पियनसिपको पुरुष एकल तर्फ भारतका प्रियान्सु रजावत श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई १६ / २१, २१ / १६, २१ / १७ ले पन्छाउँदै स्वर्ण कब्जा गर्न सफल भए । नेपालका नविन श्रेष्ठ र सुनिल जोशीले कास्य पदकमा चित्त बुझाए ।

यस्तै महिला एकलमा भारतकी माल्भिका बान्सोदले आफ्नै देशकी पूर्वा बार्वेमाथि २१ / १२, २१ / ८ को जित निकाल्दै स्वर्ण हात पारिन् । मालदिभ्सकी फथिमाथ नवाह र श्रीलङ्काकी हसिनी अम्बालङ्गगोड्गेले कास्य पाए ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको प्रतियोगिताको मिश्रीत युगल तर्फ पनि बिष्णुबर्दना गाउड र तनिशा क्राष्टोको जोडीले भारतको लागि स्वर्ण जोडे । गाउड र क्राष्टोको जोडीले श्रीलङ्काका रन्थुस्का ससिन्दु र दिल्मी डायसको जोडीलाई २१ / १०, २१ / १६ ले पाखा लगाए । नेपालका रशिला महर्जन र प्रफुल महर्जन तथा बंगलादेशका फारविन विन्ते ईम्दाद हृदिता र सयद साकेर मोहम्मद सिवगतको जोडी तेश्रो स्थान खुम्चिए ।

महिला युगलमा पनि भारतले बाजी मा¥यो । भारतका पूर्बा बार्वे र तनिशा क्राष्टोका जोडीले मालदिभ्सका जुम्ल्याहा दिदि बहिनी अमिनाथ नविहा र फाथिमाथ नवाहलाई २१ / १४, २१ / १८ ले पराजित गर्दै स्वर्ण प्राप्त गरे । तेश्रो स्थानमा बंगलादेशका रश्मि अक्तर र उर्मी अक्तर तथा नेपालका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडी रहे ।

पुरुष एकल तर्फ पनि भारतकोनै जित भयो । भारतका बिष्णुबर्दन गौड पान्जला र ध्रुव रावतको जोडीले नेपालका नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीलाई २१ / १६, १७ / २१, २१ / १७ ले पराजित गर्दै स्वर्ण भारतको पोल्टामा पार्न सफल भए ।

भारतले यस अघि मिश्रीत युगल तर्फको स्वर्ण पदक पनि आफ्नो पोल्टामा पारेको थियो । यसका साथै भारतले छ वटै स्वर्ण पदक आफ्नो देश लगेको छ ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, बिश्व ब्याडमिन्टन महासंघका कार्यकारी सदस्य तथा ब्याडमिन्टन एशिया विकास समितिका अध्यक्ष मुसा नासिद, नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष रमेश कुमार श्रेष्ठ, ब्याडमिन्टन एयिशाका बिकास ब्यवस्थापक थानाबालान अरिकृष्णन लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top