सामाजिक सुरक्षा कार्यक्रम घोषणा खुसीयालीमा दीप प्रज्ज्वलन

पोखरा, १२ मंसिर l  नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको खुसीयालीमा मंगलबार साँझ टेड युनियनकर्मीले दीपावली गरेका छन् । नेपाल टेड युनियन महासंघ (जिफन्ट) र अखिल नेपाल टेड युनियन महासंघ (अन्टुक) गण्डकी प्रदेश कमिटीको आयोजनामा पोखराको औद्योगिक क्षेत्र, अमरसिंहचोक, पृथ्वीचोक र लेकसाइडमा दीप प्रज्ज्वलन गरिएको हो ।

जिफन्टको घटक युनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले अमरसिंहचोकमा गरेको कार्यक्रममा जिफन्टका सामाजिक सुरक्षा तथा सहकारी प्रबद्र्धन कमिटी सदस्य ईश्वरप्रसाद आचार्यले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणालाई आम मजदुरले सकारात्मक रुपमा लिएको बताए । ‘मंसिर ११ गते नेपाली मजदुरको सुनौलो दिन हो,’ मजदुर नेता आचार्यले भने, ‘सामाजिक सुरक्षा कार्यक्रम लागु
भएकोमा ३५ लाख मजदुर हर्षित छन् ।’


नेपालका श्रमजीवीले सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनका लागि २० वर्षदेखि उठाउँदै आएको माग पूरा भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक सरकारले मजदुरको पक्षमा रचनात्मक कार्यक्रम गरेको प्रतिक्रिया दिएका छन् । उनले घोषणाको व्यावहारिक कार्यान्वयनका लागि मजदुरले निरन्तर रुपमा खबरदारी  गर्ने बताए । पोखरा औद्योगिक क्षेत्रका मजदुरलाई लक्षित गरी भएको कार्यक्रममा जिफन्ट गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्रीले सरकारले घोषणा गरेको कार्यक्रमलाई आम मजदुरले सकारात्मक रुपमा लिएको बताएका छन् ।

उनले घोषणाको कार्यान्वयनका लागि मजदुर सचेत र सजग भएर लाग्ने धारणा राखेका छन् l कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष कर्णसिं गुरुङ, गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर खत्री, प्रदेश कमिटी सचिव हरेराम धिताल, सहसचिव तिलकबहादुर विक, कमिटीका सल्लाहकार वद्रीनाथ पराजुली, अन्टुकका नेता रुद्र गौतम, जिफन्ट गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष नन्दलाल अधिकारी, सचिव लीलाबहादुर कार्की, जिफन्ट युवा  कमिटीका अध्यक्ष तीर्थलाल मगर, पर्यटन क्षेत्रका मजदुर नेता मनमोहन गायक, विजय केसी लगायतले बोलका थिए ।

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल र राष्ट्रिय सौन्दर्यकर्मी युनियनले पृथ्वीचोक र पर्यटन क्षेत्रमा काम गर्ने मजदुरले लेकसाइडको कार्यक्रमको व्यवस्थापन गरेका थिए । व्यावहारिक कार्यान्वयन आवश्यक सामाजिक सुरक्षा दिवसको अवसरमा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले मंगलबार सहभागिता, योगदान र सामाजिक सुरक्षा विषयक कार्यक्रम गरेको छ ।

source:samadhan

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top