मिदिम नाइट २ भुजुङ साँस्कृतिक कार्यक्रम पोखरा सभागृहमा हुने

समाचारपाटी, पोखरा, ४ मंसिर । लमजुङको क्व्होलासोथर गाउँपालिका ४ भुजुङमा रहेको लाली गुराँस युवा क्लबको आयोजनामा मिदिम नाइट २ भुजुङ साँस्कृतिक कार्यक्रम २०७५ हुने भएको छ ।

आगामी मंसिर २९ गते पोखरा सभागृहमा कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक टेक गुरुङले पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

लोपोन्मुख गुरुङ संस्कृतिहरुको जगेर्ना गर्नुका साथै भुजुङ्ग तथा मिदिम खोला वरपरका गाउँहरुमा आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी स्थानीय जनताहरुको जिवनस्तर उकास्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको संयोजक गुरुङले बताउनुभयो ।

कार्यक्रममा घाँटु, कुसुण्डा, कृष्णचरित्र, सारङ्गी नाच, झ्याउरे कौराहा सहित राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा ख्याती कमाईसकेका लाली गुराँस सांस्कृतिक समुह, भुजुङका कलाकारहरुको विभिन्न सास्कृतिक नृत्यहरु देख्न पाईने आयोजकको भनाई रहेको छ । कार्यक्रम संयोजक टेक गुरुङले भन्नुभयो – कार्यक्रममा केहि स्टलहरु पनि रहनेछन्, जसमा गुरुङ जातीले परम्परा देखि उत्पादन र उपभोग गर्दै आईरहेका परम्परागत हस्तकलाका उत्पादन र स्थानिय खानाका परिकारहरु विक्रिको लागि प्रदर्शनका लागि राखिनेछ ।

यो कार्यक्रमलाई हङकङमा बसोबास गर्ने ग्यारी गुरुङ ले मुल प्रायोजन गर्नुभएको छ भने मिदिम गाइज हङकङ र भुजुङ समाज हङकङले सहप्रायोजन गरेका छन् । कार्यक्रम अवलोकनका लागि क्रमश ३ सय ५ सय र १ हजार मुल्य बराबरका टिकटको व्यवस्था गरिएको आयोजक लाली गुराँस युवा क्लबका अध्यक्ष नवराज गुरुङले बताउनुभयो । गुरुङका अनुसार कार्यक्रमबाट संकलन भएको रकम ग्रामीण शिक्षा र स्वास्थ्यका लागि खर्च गरिने छ । कार्यक्रमबाट १३ लाखबढी आम्दानी गर्ने र खर्च कटाएर ४÷५ लाख बचत हुने आयोजकको अनुमान रहेको छ ।

मिदिम नाइट यस अघि हङकङमा सन् २०१७ मे महिनामा भएको थियो । लमजुङ जिल्लाको सदरमुकाम बेसीसहरबाट २४ किलोमिटरको जिप यात्रा पछि पर्यटकीय गाउँ, घलेगाउँ, नायु, घनपोखरा हुँदै करिव दुई घण्टाको पैदल यात्रा पछि ग्रामिण पर्यटकीय भुजुङ गाउँ सजिलै पुग्न सकिन्छ ।

यो गाउँ लमजुङ जिल्लाकै सबैभन्दा ठूलो र सिरान गाउँको रूपमा पनि प्रख्यात छ । समुन्द्री सतह देखि करिब १६ सय मिटरको उचाईमा रहेको यस गाउँको पूर्वमा घले गाउँ, घनपोखरा, पश्चिममा पसगाउँ, दक्षिणमा भोंजे पर्दछ भने उत्तरमा विशाल जंगल, घाँसे खर्क, लम्जुङ हिमाल, अन्नपूर्ण हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ । करिब ४७५ घरधुरी रहेको उक्त गाउँमा ९० प्रतिशत गुरुङ र १० प्रतिशत अन्य जातीहरू बसोवास गर्दछन् । भुजुङमा २१ सय ५० जनसंख्या रहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top