नेपालका क्षेत्री कोरियन मानार्थ नागरिकताबाट सम्मानित

पोखरा ,२९ कार्तिक l  नेपाल र कोरिया बिच संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याए बापत कोरियाको सौल महानगरपालिकाले समाजसेवी भजिन्द्र बहादुर क्षेत्रीलाई मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ । कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरिया बिचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ । सौलमा आयोजना गरिएको बिशेष समारोहमा क्षेत्री सहित २२ देशका नागरिकलाई सो मानार्थ नागरिकता प्रदान गरिएको हो ।


उक्त कार्यक्रममा बोल्दै क्षेत्रीले यो सम्मान कोरियामा रहेका करिब ४० हजार नेपाली र नेपालको सम्मान भएको बताउनुभयो । सम्मानले अझै जिम्मेवारी थपेको र आगामी दिनमा यसको मर्म अनुसार कार्य गर्ने बताउँदै बिकसित मूलुक कोरियाको प्रबिधि र बिकासका उत्कृष्ट नमूना नेपालमा भित्राउने अभियानमा लागि पर्ने बताउनुभयो । नेपालको बाग्लुङ्ग जिल्लामा जन्म भई बुटवलमा बसोबास गर्दे आउनुभएका उहाँ बिगत १४ बर्षदेखि कोरियामा रहेर घर भएका सम्मानित क्षेत्री तेक्वान्दोका राष्ट्रिय खेलाडी र प्रशिक्षक समेत हुुनुहुन्छ भने यहि क्षेत्रमा नेपाल र अन्तराष्ट्रिय स्तरमा विभिन्न पदकहरु समेत हासिल गरिसक्नुभएको छ ।


यस अघि २००९ मा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो खेलको क्षेत्रमा उच्च योगदान पु¥याए बापत सम्मान प्रदान गरिसक्नुभएको छ भने २०१२ मा क्युक्वेन का अध्यक्षबाट समेत उहाँले उच्च सम्मान पाईसक्नुभएको छ । चौथो कोरिया ओपन च्याम्पियसिप २००८ मा द्धितिय स्थान हासिल गर्नुभएको छ । यसका साथै बुटवल खेलकुद बिकास समिति, नेपाल कोरिया व्यापारिक एशोसिएसन, लगायत दर्जन भन्दा बढि संघ–संस्थाबाट उहाँ सम्मानित भईसक्नुभएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाली जनसम्पर्क समिति कोरियाका सल्लाहकार समेत रहनुभएका क्षेत्रीले कोरियामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेका बिभिन्न संघ संस्थामा बिभिन्न पदमा रहेर उच्च योगदान पुर्याउँदै आउनुभएको छ ।

यस मानार्थ नागरिकताबाट पूर्व सम्मानित एनआरएन कोरियाका पूर्व अध्यक्ष राजु क्षेत्रीले कोरियन सरकारले प्रदान गर्ने यस्ता सम्मानले नेपाल र नेपालीको प्रतिष्ठालाई माथि उठाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरको बताउनुभयो । क्षेत्री सहित यो मानार्थ नागरिकता पाउने नेपालीको संख्या ७ पुगेको छ । यस अघि के पि सिटौला, देन्जी शेर्पा, राजु क्षेत्री, जुनु गुरुङ्ग र हर्क बहादुर गुरुङ्ग (भिम गुरुङ्ग) र गम्भीरमान श्रेष्ठ ले मानार्थ नागरिकता प्राप्त गरिसक्नुभएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top