सिलिण्डर नपाएर भौतारिनु पर्दैन अब, इजरायलबाट भित्रियो होम वायोग्यास

 काठमाडौं,  १९ कात्तिक। शंखमूलस्थितका केशव घिमिरेको परिवारलाई अब नाकाबन्दी भए पनि भोकै बस्नु पर्ने चिन्ता छैन । फोहोरबाट ग्यास निकाल्ने इजरायली प्रविधि भित्रिएपछि उनको घरमा ग्यास सिलिन्डरको युग नै समाप्त भएको छ । ‘होम वायोग्यास’ नामक बायोग्यास प्लान्ट उद्घाटन गर्न शनिबार काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई नै निम्त्याइएको थियो ।   उनको घरमा मिडिया कर्मी  पुगेपछि घिमिरेले होम वायोग्यासबारे स-विस्तारमा बताएका थिए ।

‘पाँच जनाको परिवार छ हाम्रो, भान्छाबाट २-४ केजी फोहोर दैनिकजसो निस्किहाल्छ, अब त नाकाबन्दी भए पनि सिलिण्डर खोज्दै भौतारिनु पर्दैन,’ उनी भन्दैथिए । घरको छतमा राखिएको होम वायोग्यास प्लान्टमा घिमिरेले भान्छाबाट निस्किने तरकारीका बोक्रा, खेर गएको भात लगायत कुहिने किसिमका फोहोर हाल्ने गरेका छन् । सो फोहोरबाट आगो बल्ने मिथेन ग्यास उत्सर्जन हुन्छ । मिथेन ग्याँसलाई पर्यावरणीय हिसाबले पनि उपयुक्त मानिन्छ । ‘एकातिर फोहोर पनि तह लाग्ने, अर्कोतिर खाना पनि पाक्ने,’ उनले सुनाए, ‘दोहोरो फाइदा छ ।’

फोहार विसर्जन गर्ने झण्झट टर्नुका साथै त्यसबाट निस्किएको प्रांगारिक तरल मल गमलामा रोपेको काउली, रायो सागमा हालेपछि हलक्कै बढेको देखेर घिमिरे मख्ख छन् । काठमाडौं उपत्यकामा घरायसी फोहोर व्यवस्थापन चुनौतिपूर्ण बन्दै गईरहेको बेलामा यो प्रविधि निकै उपयोगी हुनसक्ने उनको भनाइ रहेको छ ।

आफ्नो टोलमा सरसफाई अभियान चलाउँदै आएका घिमिरेलाई होम वायोग्यासमा पहिल्यैदेखि चासो थियो । तर, आफैले प्रयोग नगर्दासम्म उनी यसप्रति विश्वस्त हुन सकेका थिएनन् । आफ्नै घरमा जडान गरेपछि भने उनले अरुलाई पनि यसबारे बुझाउन थालेका छन् ।

इजरायलबाट भित्राइएको प्रविधि

एडन इञ्जीनियरिङ सोलुसन प्रालिले इजरायलमा विकसित होम वायोग्यास प्रविधि नेपाल भित्र्याएको हो । इजरालयको होम वायोग्यास कम्पनीले गोबर ग्यासकै उन्नत स्वरुपका रुपमा यसलाई विकसित गरेको उक्त कम्पनिको वेबसाइटमा उल्लेख छ ।

स्थापनाको सुरूवातमा प्लान्टको तल्लो भागमा १०० किलो गोबर र माथिल्लो भागमा बालुवा हाल्नुपर्छ । गोबर हाल्दा ग्यास उत्सर्जनको प्रक्रिया चाँडो हुने र त्यसपछि कुहिने फोहोर मात्रै हाले हुने एडन इञ्जीनियरिङ सोलुसन प्रालिका निर्देशक सागर भट्टले बताएका छन्  । उनका अनुसार इनलेटबाट फोहोर हाल्नेदेखि लिएर ग्यास निस्किनेसम्म गरी यसका मुख्य पाँच प्रक्रिया छन् । सुरुमा भान्छाबाट निस्किएका फोहोरमध्ये कुहिने किसिमका फोहोर छुट्टाएर प्लान्टको इनलेटबाट भित्र पठाइन्छ ।

इनलेटबाट दैनिक २ देखि १२६ किलोसम्म कुहिने फोहोर हाल्न सकिने निर्देशक भट्टले बताए । यो फोहोर प्लान्टको तल्लो तहको ट्यांकीमा जान्छ र त्यहिंबाट वायोग्यास उत्सर्जन हुन थाल्छ ।

त्यसरी फोहोरबाट उत्सर्जन भएको मिथेन ग्यास माथिल्लो भागमा रहेको ट्यांकमा कम चाप रहने गरी जम्मा हुन्छ । त्यहाँबाट पासआउट हुने ग्यासलाई पाइपका माध्यमले भान्छासम्म पुर्‍याएर चुलोमा जोडिन्छ । इनलेटको ठिक पछाडि लिक्वीड फर्टिलाइजर (तरल मल) निश्कासन हुने पाइप दिइएको छ । तरल मल बाहिरिनुअघि त्यसमा ब्याक्टेरिया मार्ने किटनासक औषधिसमेत मिसिने हुनाले तरकारीका बोटविरुवामा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

यसलाई घरको छतमा वा २० डिग्रीभन्दा बढी तापक्रम हुने ठाउँमा राख्नुपर्ने भट्ट बताउँछन् । तापक्रम धेरै हुँदा फोहरबाट उत्पादन हुने ग्यासको मात्रासमेत बढ्ने उनको भनाइ छ । पोलिइथाइलिनबाट बनेको उक्त बायोग्यासको आयु १० वर्ष हुने र घामपानीबाट असर पनि नगर्ने बताइएको छ । आगोबाट भने यसलाई जोगाउनुपर्छ । ‘कुहिने किसिमका तीन किलो फोहर हालेपछि तीन घण्टा ग्यास बल्छ, ५/७ जनाको परिवारलाई मज्जाले पुग्छ’, भट्टले भनेका छन् ।

source:onlinekhabar

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top