लमजुङमा २ दिने मुक्तक प्रशिक्षण सम्पन्न

 

लमजुङ,  १८ कार्तिक  । लमजुङमा २ दिने मुक्तक लेखन प्रशिक्षण शनिबार सम्पन्न भएको छ । लमजुङको जेठो पत्रिका अन्तरङ्ग साप्ताहिकको आयोजनामा सुन्दरबजारमा शुक्रबारदेखि भएको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै संविधानसभाका सदस्य एवम् निवर्तमान सांसद जमिन्द्रमान घलेले साहित्यबिनाको जीवन निरस हुने बताएका छन् ।

घलेले प्रशिक्षणको सिकाइले जीवनको सार्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान गर्ने बताए । उनले विद्यार्थीले आफ्नो अध्ययनलाई कितावी पानाको ज्ञानमा मात्र सीमित गर्न नहुने बताए । उनले अन्तरङ्गको निरन्तरता र त्यसले समेटेका विधाले पत्रिकामा पृथक् र जनप्रिय बनाएको उल्लेख गरे । उनले सफलता इ्रच्छाशक्तिले प्राप्त गर्न सहज हुने भन्दै निरन्तरको अभ्यासमा लाग्न सहभागीहरूलाई आह्वान गरेका छन् ।

सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले अन्तरङ्गलाई नदीको प्रवाहसँग तुलना गर्दै यस्ता साहित्यिक अभियानको निरन्तरताको कामना गरे । उनले सिर्जनाबिनाको जीवन मुर्दा समान हुने हुँदा सबै साहित्यप्रेमी हुन आवश्यक भएको बताए । उनले लमजुङमा साहित्यको खडेरी परिरहेको टिप्पणी गरे । मिश्रले साहित्यले सुतेको मानिसलाई ब्यूँझाउने, ब्यूझेको मानिसलाई दौडाउने उल्लेख गरे । साहित्यकारको मन ममतामयी हुने, अपराधयुक्त नहुने बरु जोगी हुन सक्ने भन्दै मिश्रले सार्थकजीवन बाँच्नका लागि साहित्यप्रेमी हुनु आवश्यक रहेकोमा जोड दिए ।

सो अवसरमा सामाजिक अभियन्ता रामबाबु श्रेष्ठले यो कार्यक्रम सुन्दरबजार क्षेत्रका लागि मात्र नभई लमजुङको साहित्यिक इतिहासमा कोशे ढुङ्गा हुने बताए । अबका दिनमा सुन्दरबजार क्षेत्रमा साहित्यका गतिविधिले गति लिने विश्वास कार्यक्रमबाट जागृत भएको बताएका छन् ।

प्रमुख प्रशिक्षक साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावीले समाजलाई गलत बाटोमा जानबाट रोक्ने काम साहित्यले गर्ने बताउँदै साहित्य समाज परिवर्तनको संवाहक भएकोमा जोड दिए । उनले कक्षा– ९ मा पढ्दै गर्दा अन्तरङ्गमा आफ्नो पहिलो रचना छापिएको स्मरण गर्दै त्यही पत्रिकाले आयोजना गरेको कार्यक्रममा प्रशिक्षकको भूमिका निभाउन पाउनु गौरवको विषय भएको बताए । प्रभावीले लमजुङमा अब तुरुन्तै राष्ट्रिय स्तरको साहित्य सम्मेलन गर्नुपर्नेमा जोड दिए । लमजुङको साहित्यिक इतिहास उच्च किसिमको रहेको भन्दै उनले त्यसको विरासत थाम्न पनि स्थानीय सरकार र साहित्यिक सङ्घ, संस्था मिलेर सम्मेलन आवश्यक रहेको उनको कथन थियो । उनले मुक्तकको सिद्धान्त, इतिहास र संरचनासम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ३७ जनाको सहभागिता थियो ।

त्यस्तै, निर्णायक विश्वविनोद घिमिरेले सहभागीहरूले लेखेको मुक्तकको संरचना, विषयवस्तु र प्रस्तुति हिसावले उत्कृष्ट भएको बताउँदै भाव पक्ष लेखनको निरन्तरताले परिस्कृत हुने बताए । उनले स्कूले जीवनमै पाएको यस्तो प्रशिक्षणको सदुपयोग गर्न सहभागीलाई आग्रह गरेका छन् ।

सो अवसरमा सहभागीहरू प्रकाश दवाडीले आफूले स्नातक पढ्ना पनि जान्न नपाएको सीपका बारेमा प्रशिक्षणबाट सिक्ने मौका मिलेको बताए । अन्य सहभागीहरू आदर्श अधिकारी, मनिका गुरुङ, आस्था पोखरेल, अञ्जना कुलु र विशाल खड्काले आ–आफ्ना अनुभव सुनाउँदै साहित्यको महत्व, मुक्तकको संरचना र वाचन कलाका बारेमा जानकारी पाउँदा प्रशिक्षण सार्थक रहेको अनुभव सुनाएका थिए ।

सो अवसरमा प्रशिक्षार्थीहरुबीच गरिएको मुक्तक प्रतियोगितामा सुन्दरबजार– ९ का आदर्श अधिकारी र मनिका गुरुङ क्रमशः पहिलो र दोस्रो भए । सुन्दरबजार– ७ का विशाल खड्का तेस्रो तथा सुन्दरबजार– ४ की क्यूमी गुरुङ र सुन्दरबजार– ८ की आस्था पोखरेलले सात्वना स्थान हासिल गरेका थिए । उक्त कार्यक्रममा सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र, स्थानीय समाजसेवी तथा एभरेष्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठ र अर्का समाजसेवा तथा अन्तरङ्गका ब्यूरो प्रमुख विष्णुकुमार श्रेष्ठलाई दोसल्ला, टीका र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान सांसद जमिन्द्रमान घले, सुन्दरबजार– ७ का वडाध्यक्ष जयराम रेग्मीले उनीहरूलाई सम्मान गर्नुका साथै पुरस्कृत सहभागीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । सुन्दरबजार नगरपालिकाको सहयोगमा आयोजना गरिएको उक्त मुक्तक प्रशिक्षणको समापन कार्यक्रम अन्तरङ्गका ब्यूरो प्रमुख विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा गरिएको थियो भने सञ्चालन अन्तरङ्गका सम्पादक नवराज पहाडीले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top