दशैंमा नोट छाप्दा राज्य भयो घाटा कारण यस्तो !

५ कार्तिक l

राष्ट्र बैंकले यति परिमाणमा नयाँ नोट छाप्दा खर्च पनि ठूलै भएको छ । यति नोट छाप्दा करिब ७९ करोड रुपैयाँ राज्यको ढुकुटीको रकम खर्च भएको छ । यस अवधिमा ७८ करोड ९० लाख २८ हजार ७ सय ८१ रुपैयाँ नयाँ नोट छाप्दा मात्रै खर्च भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । एकातर्फ छपाईमै यतिधेरै खर्च भएको छ भने दशैंमा वितरण गरिएका धेरै नोटहरु विग्रने तथा नष्ट हुने कारणले पनि राज्यकोष ठूलो रकम नयाँ नोटमा खर्च हुने गरेको छ ।

दशैंकै बेला नयाँ नोट वितरण गर्ने चलनले गर्दा सर्वसाधारणहरुले दशैमा पुराना नोट प्रयोग गर्न छाडिसकेका छन् । दशैंमा जे-जसरी हुन्छ नयाँ नोट नै चाहाने सर्वसाधारणको चाहनाले गर्दा मुलुकलाई थप व्ययभार बढेको छ । दशैंमा नयाँ नोट प्रयोग गर्दा अबीर तथा टीका लाग्छ । अझ दक्षिणाको रुपमा दिँदा त अबीर टीका दलेर दिने प्रचलन छ । नोटमा अबीर तथा टीका थप्दा नोटको आयु कम हुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

कुनै नोट विग्रिए राष्ट्र बैंकले त्यस्तो नोट खिचेर नयाँ नोट दिने गरेको छ । त्यो खिचेको नोटको सट्टा राष्ट्र बैंकले अर्को नयाँ नोट छपाउने गरेको छ । यसरी फेरी नोट छपाउँदा राज्यलाई व्यवभार थप हुने गर्दछ । अर्कोतर्फ दशैंमा मादक पदार्थ सेवन गर्नेहरुले नोट च्यात्ने तथा जलाउने साथै तास खेल्दा समेत नोटको जतन नगरी प्रयोग गर्दा च्यातिने गरेका घटनाहरु आउने गरेका छन् ।

दशैंमा वितरण गरिएका धेरै नोटहरु विग्रने तथा नष्ट हुने कारणले पनि राज्यकोष ठूलो रकम नयाँ नोटमा खर्च हुने गरेको छ । यसरी दशैंमा वितरण गरिएका नयाँ नोटमा अबीर र टीकाको माध्यमबाट होस् या जुवातास खेल्दा हुने क्षतिका कारण मुलुकको ढुकुटीबाट नै खर्च गर्नुपर्ने अवस्था आउँछ । राज्यलाई यसरी वर्षेनी व्यवभार बढ्दै जाने हुँदा दशैंका बेला नयाँ नोट वितरण बन्द गर्ने हो कि भन्ने बहस राष्ट्र बैंकमै शुरु भइसकेको छ । राष्ट्र बैंक स्रोतका अनुसार दशैंकै बेला नयाँ नोट छाप्दा खर्च सँगै व्यवस्थापनको समेत चुनौती सामाना गर्नुपर्ने भएकाले नयाँ नोटका विषयमा नयाँ निर्णय गर्ने गरी छलफल शुरु भएको छ ।

दशैंका बेला नयाँ नोट वितरण गर्दा खर्च दिनप्रतिदिन बढ्दै गएको र व्यवस्थापनको चुनौतीसमेत सामाना गर्नुपर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बताउँछन् । दशैंमा नयाँ नोट पुरै बन्द नगरे पनि यसमा केही नयाँ निर्णय गर्नु पर्ने उनको भनाइ छ । दशैंका बेला सबै नोट बन्द नगरी कुनै दुई दरका नयाँ नोट वितरण गरे धेरै समस्या कम हुने कार्यकारी निर्देशक निरौला बताउछन् ।

नयाँ नोट दशैंका बेला वितरण गर्दा खर्चसँगै व्यवस्थापनमा समेत ठूलो चुनौती देखिएको छ । यस वर्ष राष्ट्र बैंकले दशैंका लागि भन्दै ७ दिनसम्म नयाँ नोट वितरण गरेको थियो । राष्ट्र बैंकले वितरण गर्ने भनेको ७ दिनै बैंकिङ कार्यालय थापाथलीमा सर्वसाधारणको घुईचो लागेको थियो । सर्वसाधारणहरु बिहान ३ बजेदेखि समेत नयाँ नोट सटहीका लागि थापाथलीमा लाइन लाग्न पुगेका थिए । यस वर्ष राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरुमा समेत सटही सुविधा हसने व्यवस्था मिलाएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लगायतका वाणिज्य बैंकहरुमा समेत नयाँ नोट सटही हुने भए पनि सर्वसाधारणलाई सहज भएको थिएन । प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म सटही सुविधा लिनका लागि सर्वसाधारणहरुले ३ देखि ७ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता देखिन्थ्यो ।

सर्वसाधारणलाई मात्रै होइन, कर्मचारीहरुलाई समेत सास्ती उस्तै हुन्छ । बिहान १० बजेदेखि नयाँ नोट वितरण शुरु हुने भए पनि बिहानै सर्वसाधारणको घुँइचो बढेकाका कारण कर्मचारीहरु अझ विहानै गएर व्यवस्थापन गर्नुपर्ने हुन्छ । बिहान १० बजेदेखि कार्यालय समय भए पनि बिहान सबेरै नोट व्यवस्थापनका लागि जानुपर्ने र साझ पनि ढिलामात्रै घर र्फकन पाउने कर्मचारीहरुको अवस्था रहेको थियो ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top