तातोपानी कुण्डमा स्नान गर्न आउनेको संख्या वृद्धि

म्याग्दी, ५ कार्तिक l  म्याग्दीको अन्नपूर्ण गाउँपालिका- २ स्थित पर्यटकीय स्थल भुरुङ्ग तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी-जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको हो।

चिसो बढेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेको संख्यामा वृद्धि भएको कुण्डका व्यवस्थापक लट्टे गिरीले बताए। ‘दैनिक पाँच सयभन्दा बढीले तातोपानीको धारा र कुण्डमा स्नान गर्न आएका छन्, गिरीले भने, ‘बेनी-जोमसोम यात्रा गर्नेहरुका लागि तातोपानी कुण्ड विश्रामस्थल हो।’

प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फूर्ति बढेको अनुभव भएको काठमाडौबाट आएका रमेश श्रेष्ठले बताए कुण्डमा स्नानका लागि स्वदेशीलाई पचास र बिदेशीलाई १५० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ।

प्रवेश शुल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले यस वर्ष ५३ लाखमा ठेक्कामा लगाएको वडा अध्यक्ष
ओमप्रकाश फगामीले बताए। पर्यटकीय स्थलबाट भएको आम्दानी तीस प्रतिशत गाउँपालिका र सत्तरी प्रतिशत वडाले तय गरेका प्रभावित क्षेत्रका योजना तथा कार्यक्रममा लगानी गरिने वडा अध्यक्ष फगामीले बताए।

source:annapurnaposthttp://annapurnapost.com/news/111050

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top