‘मीगीन’को दोस्रो साहित्यिक कृति “बिजोर चप्पलहरू” को विमोचन

पोखरा, २४ असोज l  युवा साहित्यकार कवि कृष्ण थापामगर ‘मीगीन’को दोस्रो साहित्यिक कृति मगर तथा नेपाली भाषाको द्वैभाषिक कविता संग्रह ‘पाट्याहल चप्पलको’ (बिजोर चप्पलहरू) को विमोचन गरिएको छ । मगर भाषा प्रतिष्ठान, कास्कीले आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापामगरले विमोचन गरे । कृति विमोचनपछि थापामगरले यथार्थवादी साहित्यले समाजको परिवर्तन गर्न सहयोग गर्ने उल्लेख गरेका थिए l


मगर भाषाप्रति नयाँ पुस्ताको अभिरुचि बढाउन यस्ता कृतिले सहयोग पुर्याउने उल्लेख गर्दै उनले मगर साहित्यको विकासका लागि भाषिक, साहित्यिक जागरण आउनुपर्ने बताए । नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिको मुख्य पहिचान भनेकै भाषा भएको तक गर्दै मगर भाषामा साहित्यिक कृति लेखिनु खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर, मगर चलचित्रकर्मी संघ, नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका केन्द्रीय अध्यक्ष हर्क आलेमगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, गुरुङ साहित्यिक मञ्च, नेपालकी अध्यक्ष गौरी गुरुङ, नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिका अध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’, सह–सचिव दीपक सिंजालीमगर, साहित्यकार इन्दिरा थापामगर, मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष वेदान्त कविरत्न रूद्रबहादुर हितानमगर लगायतले बोलेका थिए । कवि मीगीनको मगर भाषाको मुक्तक संग्रह ‘मीगीन’ (मुटु) प्रकाशित भइसकेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top