बंगलादेशको महोत्सवमा नेपालबाट ‘नौगेडी’

लमजुङ, १६ असोज  l  बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ ।
भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बंगलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नोगेडी’ मञ्चन हुनेछ । आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नाटक मञ्चन हुने समय तालिका आयोजकले दिएको छ । नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गरेका छन् । उनका अनुसार नाटक मञ्चनका लागि सवै तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले जनाए अनुसार महोत्सवमा नेपालसंगै भारत, बंगलादेश, भुटान लगायत विभिन्न देशका नाटक मञ्चन हुनेछन् ।

केही महिनाअघि भारतको कोलकातामा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागि बंगलादेशका टीमको सिफारिसमा नेपाली नाट्य समूहलाई बंगलादेशमा हुने अन्तराष्ट्रिय नाटक महोत्सवमा निमन्त्रणा गरिएको डा. थापाले बताए । उनका अनुसार गत फागुनमा कोलकातामा आयोजित महोत्सवमा आदि इत्यादि र मञ्जरी नाट्य समूह लमजुङले पुरु लम्सालकै लेखन तथा निर्देशनमा बनेको नाटक ‘पानीघट्ट’ मञ्चन गरेका थिए । ‘कोलकातामा नेपाली नाटक औधी रुचाइयो । त्यहा“का नेपालीले मात्रै नभएर नाटकमा सहभागिले समेत रुचाए । त्यसपछि हामी हौसियौं’ उनले भने, ‘पानीघट्टबाट प्रभावित बंगलादेशी टोलीले हाम्रो नाम सिफारिस महोत्सवका लागि सिफारिस गरेछ । आयोजकले हामीलाई पानीघट्ट अथवा त्यस्तै सांस्कृतिक नाटक लिएर महोत्सवमा सहभागी हुन आग्रह गर्यो ।

नया“ नाटक नै गरौं भनेर नौगेडीको तयारीमा लाग्यौं ।’ ‘पानीघट्ट’ नेपालका आधादर्जन बढी ठाउ“मा मञ्चन भइसकेको उनले बताए । उक्त नाटक नेपालमा प्रदर्शनपछि कोलकता लगिएको र त्यसपछि पनि पुनः नेपालका सहरमा प्रस्तुत गरिएको मञ्जरी नाट्य समूह लमजुङका अध्यक्ष केदार बोहोराले बताए । निर्देशक लम्सालका अनुसार ‘नौगेडी’ पहिलोपटक बंगलादेशमा प्रदर्शन हुदैछ ।

त्यसपछि स्वदेशमा पनि मञ्चन गराइने उनले बताए । निर्देशक लम्सालका अनुसार ‘नौगेडी’ नुवाकोटको प्रशिद्ध दुप्चेश्वर जात्रा र घ्याङफेदीको परिवेशमा रचिएको नाटक हो । यसले विद्यमान छुवाछुत र चेलीबेटी बेचबिखनको समस्यालाई उजागर गर्न खोजिएको उनले बताए । नौगेडीमा सुशीलसिंह ठकुरी, पवित्रा खड्का, जयराम तिमल्सिना, रीता थापा, आइपी आचार्य, मञ्जु गिरी, अनन्तप्रकाश श्रेष्ठ, बिमला अधिकारी देवकोटा, निर्मला खड्का, जेबी डिसी, भीष्म जोशी, केदार बोहोरा लगायतले अभिनय गरेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top