गाउँ छाड्नेलाई गाउँमै बस्ने वातावरण मिलाउन आँधीखोला गाउँपालिका को अभियान

स्याङ्गजा, १२ असोज l शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता र सुविधा खोजीमा गाउँ छाड्नेलाई रोक्न र गाउँमै बस्ने वातावरण मिलाउन आँधीखोला गाउँपालिकाले अभियान थालेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नति र गाउँको प्रवद्र्धन गरी गाउँका मान्छेलाई गाउँमै रोक्ने तथा गाउँ फर्केर केही गर्न सक्ने वातावरण बनाउन लागेको हो । यसै क्रममा गाउँपालिकाले उज्यालो घरबास कार्यक्रम ल्याएको छ । यो कार्यक्रमले यति बेला नेपालकै पहिलो होमस्टे गाउँ सिरुबारी झिलीमिली भएको छ । अन्य होमस्टे गाउँ बनाएर यसैगरी उज्यालो घरबासलाई निरन्तरता दिने गाउँपालिकाको योजना छ ।


आँधिखोला गाउँपालिकाका सबै विद्यालय र स्वास्थ्यचौकीमा अब २० घन्टा बिजुलीको समस्याबाट मुक्त हुन सोलार जडान भएको छ । सिरुबारी होमस्टेका २७ घर, ९ वटा माध्यमिक विद्यालय र ६ वडाका स्वास्थ्य संस्थामा सोलार जडान गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा  गाउँपालिकाले सोलार जडान गररेपछि बिजुली नभएका समयमा पनि विद्यार्थी, स्वास्थ्य संस्थाका सेवाग्राही, होमस्टे र त्यहाँ पुगेका पाहुनालाई हाइसञ्चो
भएको छ । आँधीखोलामा १ करोड २ लाख लागतमा सोलार बत्ति जडान भएको छ । सिरुबारीमा २७ घरमात्रै होइन, सडकका १० ठाउँमा सोलार बत्ति राखेपछि गाउँ नै झिलीमिली भएको छ । ‘

बेला बेला जाने बिजुलीबाट हैरान थियौं, होमस्टेमा बस्न आएका पाहुनलाई पनि उस्तै गाह्रो, मैनबत्ति र टुकी खोज्दै हिँड्नुपथ्र्यो,’ गाउँकी होमस्टे सञ्चालक तथा आमा समूहकी कोषाध्यक्ष शान्ति गुरुङले भने, ‘सोलार जोडेपछि आनन्द भएको छ । सोलार बलेपछि बाजागाजासहित गाउँलेले धूमधामले खुसी मनाए भने गाउँ पुगेका पाहुनालाई फूलमाला लगाएर स्वागत गरे । सोलार उद्घाटन गर्न पुगेका अतिथि  तथा सरोकारवालालाई गाउँलेको आग्रह
थियो, ‘गाउँमा सुविधा ल्याइदिनुहोस्, हाम्रा बाबुनानी पनि गाउँमै बसून् ।’

गाउँ छोडेकालाई कसरी फर्काउने ? 
सांसदसमेत रहेका क्याम्पेट रुद्रमान गुरुङको नेतृत्वमा २०५४ सालमा घोषणा भएको पहिलो होमस्टे गाउँ सिरुबारीमा अहिले झन्डै ३० घरमा मात्रै मान्छे छन् । १७ घरमामात्रै होमस्टे सञ्चालनमा छ । सुरुआतमा ३९ घरमा होमस्टे चलाइएको थियो । गाउँ नै खाली हुनेमात्रै होइन, होमस्टेसमेत खस्किएपछि
गाउँमै बसेका बूढाबूढीलाई चिन्ता परेको छ ।

सिरुबारीमै जन्मिएर देशभरि नाम कमाएका पूर्व सांसद समाजविज्ञ डा.गणेशमान गुरुङसमक्ष स्थानीयको बिन्ती थियो, ‘सिरुबारीका लागि धेरै काम गर्नुभएको छ । तर पनि गाउँ खाली हुँदै जान थाल्यो, केही अभियान चलाउनु पर्यो । योजना आयोगका पूर्वसदस्यसमेत रहेका डा. गुरुङकै पहलमा अहिले सिरुबारीसम्म पुग्ने ४५ किलोमिटर सडक पिच हुँदैछ ।

डा. गुरुङले गाउँलेलाई सम्झाए, ‘चिन्ता लिनु पर्दैन, गाउँमा सबै सुविधा आइपुग्दैछ । हामीले मौलिकता जेगाइराख्न सक्यौं भने अवश्य गाउँ फेरि सुविधासम्पन्न भएर चम्किनेछ ।’ गाउँकै चिन्ताले क्याम्टेन रुद्रमानकी बुहारी १ वर्षदेखि गाउँमै बसेर युवाको नेतृत्व गरिरहेकी छिन् । ‘म पोखरामै बस्थें । गाउँमै सम्भावना छ र गाउँमै मैले नेतृत्व गर्नुपर्छ भनेर गाउँ आएकी हुँ,’ उर्मिला गुरुङले भनिन्, ‘गाउँ आएपछि मलाई जाँगर पलाएको छ ।’

गाउँ पुग्ने पाहुनालाई स्वागत, सत्कार तथा सांस्कृतिक कार्यक्रमको नेतृत्व अहिले यिनै सर्मिला गर्छिन् । सुविधा गाउँसम्मै पुर्याएर पलायन रोक्ने, बाहिरबाट गाउँ भित्रयाउने योजना गाउँपालिकाले अघि सारेको अध्यक्ष सुधीर पौडेलले बताए । ‘जब गाउँमै आवश्यकता पूरा हुँदैनन् । त्यसपछि गाउँले सुविधा खोज्दै
सहर झर्दा रहेछन्,’ पौडेलले भने, ‘अब गाउँका मान्छे सहर नझरुन् भनेर शिक्षाको गुणस्तर बढाउने, स्वास्थ्यमा सुधार, सडकको स्तरोन्नति र गाउँमा अन्य सुविधा पुर्याउने अभियान थालेका छौं ।’

जनप्रतिनिधि आएपछि सबै विद्यालयमा अंग्रेजी माध्यम बनाइएको छ । सहर झर्ने अधिकांश अभिभावक अंग्रेजी माध्यममा सन्तानलाई पढाउन चाहने भएको अध्यक्ष शर्माले सुनाए । ‘शिक्षामा सुधारका निम्ति पाठ्यक्रममा एकरुपता, शिक्षकलाई तालिम र विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका
छौं,’ अध्यक्ष पौडेलले भने । गाउँलेमा सशक्तीकरण, संस्कृति संरक्षण र मौलिकताले मात्रै गाउँ उठ्न सक्ने गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेल क्षेत्री बताउँछिन् ।

source:samadhannews

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top