मुस्ताङका दैवीप्रकोप पीडितलाई एकमुष्ठ २५ लाख रुपैयाँ राहत

मुस्ताङ, ११ असोज l  सरकारले मुस्ताङका दैवीप्रकोप पीडित परिवारलाई एकमुष्ठ २५ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । प्रतिनिधि सभाका सदस्य प्रेमप्रसाद तुलाचन र प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको प्रयासमा गृह मन्त्रालयले उक्त सहयोग पठाएको हो । बाढी–पहिरोले क्षति भएको  परिणामका आधारमा राहत उपलब्ध गराउन निर्देशन गरेको छ ।

गृहले १ लाखभन्दा कम क्षति भएका परिवारलाई जनही ५ हजार र १ लाखभन्दा बढी क्षति भएका परिवारलाई जनही १० हजारका दरले राहत दिन निर्देशन गरेको प्रजिअ पौडेलले जानकारी दिए । प्रजिअ शिशिर पौडेलका अध्यक्षतामा बुधबार बसेको विपत् व्यवस्थापन समितिको बैठकले गृहले तोकेअनुसारको रकम दैवीप्रकोप पीडित परिवारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

यसअघि सांसद प्रेमप्रसाद तुलाचनले जिल्लामा भएको दैवीप्रकोप पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेको बताए । जिल्लामा भएका  विपत्का भिडियो दृश्य गृह मन्त्रालयमा पेस गरेको सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । आउँदो आइतबार थासाङ गाउँपालिका र सोमबार घरपझोङ गाउँपालिकामा राहत वितरण गरिने विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ पौडेलले जानकारी दिए । उनका अनुसार
थासाङ गाउँपालिकामा ९७ घरधुरी, घरपझोङ गाउँपालिकामा २१ घरधुरी र वारागुङ गाउँपालिकामा ३ घरधुरीलाई राहत बितरण गरिने बताए ।

२ साताअघिको मुसलधारे वर्षाले थासाङ गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ मा बाढी– पहिरो आउँदा क्षति पुगेको थियो । थासाङको कुञ्जोमा ३ करोडको स्वास्थ्य चौकी भवन पूर्ण रुपमा क्षति भएको छ । बाढीले खेतीयोग्य जमिनसमेत नष्ट गरेको थियो । घरपझोङ गाउँपालिका ५ र ३ मा पनि बाढी–
पहिरोले क्षति पुर्याएको थियो ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top