गण्डकी प्रदेशमा प्रदेश सभाले तयार गर्यो २२ कानुन

पोखरा, ९ असोज l  गण्डकी प्रदेश सभाले २२ वटा कानुन बनाएको छ । प्रदेशसभाको पहिलो अधिवेशनबाट ९ र दोस्रो अधिवेशबाट १३ विधेयक पारित भएको सभामुख नेत्रनाथ अधिकारीले बताए । ती सबै विधेयक प्रदेश प्रमुख प्रमुखबाट प्रमाणीकरण समेत भइसकेका छन् । प्रदेशसभाको बर्खे अधिवेशन सोमबार रातिबाट सकिएको छ । सभामुख अधिकारीले प्रदेश स्थापनाको शून्य अवस्थादेखि अहिलेसम्म आउँदा धेरै विषय सिकेको भन्दा सानातिना गल्ती कमजोरी सच्याउँदै जाने प्रतिबद्धता जनाए ।


दोस्रो अधिवेशनका क्रममा दर्ता भएका ३ विधेयक भने संसदमै विचाराधीन अवस्थामा छन् । असार ११ गते संसद सचिवालयमा दर्ता भएको प्रदेश सभा सचिवालय ऐन, भदौ १४ मा दर्ता भएको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भदौ १८ गते दर्ता भएका वरपिपल चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक संसदको विधायन समितिमा अड्किएका छन् । विधेयक विधायन समितिमा अड्केको र सरकारले बिजनेस दिन नसकेकै कारण भदौ १५ गते बस्ने भनेको प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

जेठ १६ गते सुरु भएको प्रदेश सभाको दोस्रो अधिवेशनमा ३५ दिनमा ४४ घन्टा ८ मिनेट बैठक बसेको संसद सचिवालय सचिव शम्भुबहादुर खड्काले बताए । उनले भने, ‘३५ दिनमा ४२ वटा बैठकमा १३ वटा विधेयक पारित भएका छन् ।’ यही अधिवेशन अन्तर्गत जेठ २५ मा प्रदेश प्रमुखले संसदमा नीति
तथा कार्यक्रम पेस गरे ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top