कपाल काट्ने दर बढ्यो ! कपाल काटेको सय, दाह्री काटेको ८० तिर्नुपर्ने (कुन कुनको कति पर्छ हेर्नुहोस)

पोखरा, ३ असोज । कास्कीमा रहेका हेयर शैलुनबाट दिने सेवा शुल्कमा बृद्धि भएको छ । नेपाल नाई संघ कास्कीको मंगलबार बसेको बैठकले नयाँ दर लागु गरिएको जिल्ला अध्यक्ष विगुलाल ठाकुरले जानकारी दिए ।

जिल्ला अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा बसेको वैठकले कास्कीमा सेवा दिने करिव १ सय ५० शैलुनमा नयाँ शुल्क लागु भएको जनाएको हो । गत साउनमा भएको जिल्ला अधिवेशनले पारित गरेको दर असोजदेखि लागु गर्ने निर्णय अनुरुप उपभोक्तालाई जानकारी दिने एजेन्डा बैठकमा प्रस्तुत गरिएको जिल्ला सहसचवि दीपक ठाकुरले जानकारी दिए ।

कपाल काटेको १ सय रुपैयाँ तय गरिएको छ । नाई संघले जारी गरेको मूल्य सूचीमा दाह्री काटेको ८०, कपाल कालो गरेको २ सय ५०, टाउको मसाज गरेको १ सय, फेस मसाजको २ सय ५०, हेयर आइरन गरेको ४ सय रुपैयाँ निर्धारण गरिएको नाई संघले जनाएको छ । संघले आवश्यकता अनुसार होम सर्भिस, फेसियल, कपाल रातो, स्पेसल दाह्री तथा अन्य सेवामा समयानुकुल मूल्य बृद्धि गरिएको जनाएको छ ।

कार्यक्रममा नाई संघका केन्द्रीय सदस्य भैरवलाल ठाकुरले उपभोक्ताको हित र सेवामा ध्यान दिँदै नाई पेसालाई मर्यादित बनाउन अनुरोध गरे । वैठकमा नेपाल नाई संघ प्रदेश अध्यक्ष आदेशप्रसाद ठाकुरले उपभोक्तालाई सरल, सहज र सफासँग सेवा दिन अनुरोध गरेका थिए ।

उनले बढेको मूल्य भन्दापनि उपभोक्ताको हित र चाहनालाई ध्यान दिन सक्नुपर्नेमा जोड दिए । वैठकले शैलुनमा सुर्ती सेवन गर्न नहुने, रुमाल सफा राख्नुपर्ने, ऐनामा फोहोर हुनेगरी कुनै कुनै स्टिकर टास्न नहुने निर्णय गरेको जिल्ला उपाध्यक्ष आनन्द ठाकुरले जानकारी दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top