पहिरोले बडीगाड खोला थुनियो, तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आव्हान

अर्जुन कार्की, बागलुङ, ३० भदौ । शुक्रबार राती ११ बजेको समयमा बडिगाड गाउँपालिका–७ भिमगिठेको तुरतुरेमा गएको पहिरोले बडिगाड खोला थुनिएको छ । खोला थुनिएको ८ घण्टा पछि पानी ओभरफ्लो भएर बग्न थालेपछि पानीको सतह घट्दै गएको छ ।

पहिरोले खोला थुनिएको थाहा पाएपछि जिल्ला दरमुकामबाट गएका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलका अनुसार अहिले खोलामा पानी ओभरफ्लो भएर बग्न थालेको जानकारी दिनुभयो । खरेलले अहिले पानी बगिरहेको छ, कुनै पनि बेला ताल फुट्न सक्ने भएकाले नदिको तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित हुन आव्हान गरेको बताउनुभयो ।

अहिले ताल फुटेर हुने खतरालाई कम गर्न तालको पानीलाई विस्तारै घटाउँदै लैजाने काम भइरहेको प्रमुख जिल्ला अधिकारी खरलले बताउनुभयो । बडिगाड खोला थुनिएपछि त्यस आसपासका बासिन्दाहरु रात्रभर त्रसित बनेका छन् । खोलाले ढोरपाटन–२ सिमलचौरका चुरा बहादुर कुमालको गोठ सहित ३ गोरु पुरिएकाछन भने २ ओटा घर र ३ ओटा गोठ पुरिएको स्थानिय दिनेश शर्माले जानकारी दिनुभयो । पहिरोले खोला थुनिएपछि स्थानियहरुले आफ्ना महत्वपूर्ण सामानहरु निकालेको जनाएका छन् ।

मध्यपहाडी लोकमार्गको ठुलो भयाङ खण्डको सडक रातीमा ठप्प पारी स्तरोन्नती गर्ने कार्य भैरहेकाले अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालयका एसपि प्रमुख दिपक रेग्मीले जानकारी दिनुभयो ।


तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top