मुस्ताङमा एक छात्रा माथि  ३ शिक्षकले निर्घात कुटपिट

मुस्ताङ, १२ भदौ l जनआर्दश माध्यमिक विद्यालय कोवाङकी १४ वर्षीया छात्रा मधु परिवारलाई सोही विद्यालयका शिक्षकले शनिबार साँझ कुटपिट गरेका छन् । आफूलाई मानसिक यातनासहित निर्घात कुटपिट गरेको पीडित बालिकाले प्रहरीसमक्ष बताएकी छन् । जिल्लाकै एक मात्र नमुना कृषि प्राविधिक विद्यालयमा छात्रावाससमेत छ । विद्यालयले छात्राबास इन्चार्जको स्वीकृतिमा हरेक शुक्रबार विद्यार्थीलाई घरमा जाने बिदा दिने गरेको छ ।

पठनपाठनको समयमा विद्यार्थीले मोबाइल होस्टेललाई बुझाउनु पर्छ । गत शुक्रबार मधुसहित छात्राबासका उनका केही साथी घर गए । उनीहरु शनिबार साँझ छात्राबास फर्किए । उनीसँगै घर गएकामध्ये १ जनाको   मोबाइल हरायो । मधुमाथि शंका गरेर शिक्षकहरुले केरकारमात्र गरेनन्, उनका बुबा मंगललाई स्कुल
झिकाए । मधुले आफूले मोबाइल नलगेको अडान लिइन् ।

मंगल फर्किएपछि छात्राबासमा ढोका बन्द गरेर ३ जना शिक्षकले मोबाइल चोरेको आरोपमा उनीमाथि निर्घात कुटपिट गरे । मधुलाई उपचारका लागि जिल्ला अस्पताल जोमसोममा ल्याइएको छ । सोमबार विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार र पीडितबीच जिल्ला प्रहरी कार्यालयमा छलफल भएको छ । मधुलाई कुटपिट गर्ने ३ शिक्षकले गल्ती स्वीकार गरेका  छन् ।

घटनापछि विद्यालयका प्रधानाध्यापक टीकाराम शर्माले आफ्ना शिक्षकले गल्ती गरेकोमा दुःख व्यक्त गरेका छन् । मुस्ताङ दलित एकता सञ्जालका अध्यक्ष बुद्धिसिह नेपालीले दोषीमाथि कारवाही अघि बढाउन अनुरोध गरेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top