कांग्रेसले गफ होईन काम गर्छ – गगन थापा

समाचारपाटी, पोखरा, २७ बैशाख । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले कांग्रेस कुरा भन्दा काम गर्ने पार्टी भएको दावी गर्नुभएको छ । पोखरा लखेनाथ महानगरपालिका वडा नं. २५ मा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले यसपालीको निर्वाचनमा काममा विश्वास गर्ने आफ्नो पार्टीलाई नेपाली जनताले अत्याधिक बहुमतले विजयी गराउने जिकिर गर्नुभयो ।

नेपाल सरकारका स्वास्थ्य मन्त्री समेत रहनु भएका कांग्रेस नेता थापाले वैशाख ३१ गते पछि मुलुकका अधिंकास स्थानिय तहहरुमा नेपाली कांग्रेसको चारतारे झण्डा फहरिने विश्वास व्यक्त गर्नुभयो । पोखरा लेखनाथ महानगरपालिकामा कांग्रेसको जित सुनिश्चित रहेको दावी गर्दै थापाले आत्मबलका साथ स्थानिय तहको चुनावमा होमिन आफ्ना नेता कार्यकर्तालाई अपिल गर्नुभयो । पोखरामा कांग्रेसले जितेको खबर लिएर आफु काठमाण्डौ फर्कने उल्लेख गर्दै नेता थापाले संविधानको सफल कार्यान्वयन र मुलुकको विकास तथा समृद्धिका लागी कांग्रेसको रुख चिन्हमा मतदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विगतका आन्दोलनहरुमा नेपाली कांग्रेसले जनतालाई कहिल्लै पनि धोका नदिएको उल्लेख गर्दै थापाले अवको मुलुक बनाउने पार्टी नै एक मात्र विकल्प कांग्रेस भएको उल्लेख गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका स्थानिय नेताहरुले नेपाली कांग्रेसलाई मतदान गरि विजयी गराउन आग्रह गरेका छन् ।

वडा न. २५ का संयोजक मधुसुधन त्रिपाठीको सभापतित्वमा भएको कार्यक्रममा झण्डै २०० जनाले पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा स्वागत भरतराज अधिकारी र संचालन मोतिराज तिमिल्सिनाले गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top