मजदुरमा विभेदकारी नीति अन्त्य गर्न माग

केदार धमला, पोखरा, ४ भदौ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले मजदुरलाई फुटाएर वर्तमान सरकारले गलत नीति लिएको आरोप लगाएका छन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा कार्कीले ७ सय ५३ वटै स्थानीय तहमा संगठनलाई चुस्त दुरुस्त बनाउन निर्देशन दिँदै क्रियाशील संगठनले मात्र आफ्नो माग उठान गर्नसक्ने ठोकुवा गरे । उनले जनताका अधिकार खोस्दै प्रजातन्त्रलाई कमजोर पार्ने षडयन्त्रमा सरकार क्रियाशील बनेको बताए । कार्कीले माथिकालाई भन्दा तलका साना मजदुर र गरिव जनतामाथि सरकारले शोषण गर्न थालेको भन्दै अतिवादी विरुद्ध ट्रेड युनियन कांग्रेस लड्ने बताए ।

मजदुर नेता कार्कीले प्रधानमन्त्री केपी ओलीको सल्लाहकार मजदजुर फाँटका विष्णु रिमाल भएपनि कम्युनिस्ट चरित्रका कारण हिजो हामीसँग गरेको सम्झौता भूलेको आरोप लगाए । अप्सिन केन्द्रका वरिष्ठ उपाध्यक्ष सुशीलदत्त मिश्रको अध्यक्षतामा भएको उद्घाटनसत्रमा अप्सिनका उपामहासचिव फणिन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए भने अप्सिन कास्कीका अध्यक्ष शोभाखर भण्डारीले स्वागत र सचिव केदार धमलाले धन्यवाद दिएका थिए ।

नेपाली कांग्रेस कास्कीका सदस्य उमेश पराजुलीले मजदुर संगठित हुनसकेमात्र जनताले राहत महशुस गर्न सक्ने बताए । उनले कांग्रेस कसैसँग डराउने पार्टी भएको भन्दै मजदुरलाई निरन्तर संघर्ष गर्न अनुरोध गरे । जिल्ला सदस्य नवीन सिग्देलले कांग्रेसको गल्ति भन्न नसकेरै भातृ संस्था कमजोर बन्दै गएको उल्लेख गरे । सार्वजनिक सेवा कर्मचारी संघका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईले एकै प्रकृतिको काम गर्ने निजामती सेवा र सार्वजनिक सेवाका कार्यरत मजदुरमाथि अवकाश कर काट्दा ५ प्रतिशत र १५ प्रतिशत गरेकामा आपत्ति जनाउँदै कडा आलोचना गरे । एनटियुसि गण्डकीका अध्यक्ष मुरारी शर्माले समृद्धिको नारा दिएपनि जनतालाई झुक्याउँदै ऐन, नियम तथा गलत नीति अंगाल्दै सरकारले कार्यकर्ता पोस्ने योजना बनाएको बताए । ट्रेड युनियन कांग्रेस जिल्ला अध्यक्ष विजयराज भण्डारीले नयाँ नेतृत्वलाई शुभकामना दिँदै असमान सरकारी नीतिको विरुद्ध एक भएर लाग्नुपर्नेमा जोड दिए । युनियनका निवर्तमान अध्यक्ष कुलदेवी बरालले महिला सशक्तिकरणमा जोड दिँदै केन्द्रीय तहबाट कार्यक्रम नदिएसम्म जिल्ला र प्रदेशले नीतिगत कार्य गर्न नसक्ने बताइन् ।

संघको गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा शोभाखर भण्डारी, उपाध्यक्षमा केदार धमला, शैलेन्द्र भट्ट, महिला उपाध्यक्षमा इन्दिरा गुरुङ, सचिवमा प्रकाश बराल, सहसचिवमा रामप्रसाल बास्तोला, कोषाध्यक्षमा दुर्गारमण पराजुली निर्वाचित भएका छन् । सदस्यमा कविता काफ्ले, पार्वती अधिकारी, तारानाथ सुवेदी, धनप्रसाद तिवारी, रामकुमार रेग्मी, मेघनाथ भण्डारी सर्वसम्मत निर्वाचित भएका निर्वाचन अधिकृति प्रेमराज ढुंगानाले जानकारी दिए । विभिन्न प्रतिष्ठान स्तरबाट चुनिएका गण्डकी प्रदेशका ११ जिल्लाबाट करिव १ सय ४० प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेका नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सचिव रुद्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top