महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम : उपप्रमुख गुरुङ

पोखरा ४ भदौ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरभित्र रहेका महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन कार्यक्रम ल्याउने तयारी गरिरहेको बताएकी छन् ।

पोखरा महानगरपालिका वडा नम्वर १९ले संचालन गरेको महिलालाई तानबाट झोला बुन्न तालिमको सोमबार अनुगमन गदै महागनरले चालुआर्थिक वर्षमा ५० महिला ५ सय उद्यमी महिला कार्यक्रम संचालन गर्ने तयारी गरेको गुरुङले जानकारी दिइन् ।

महिलाहरुलाई उद्यमशीलताको पाटोसंग जोडदै आत्मनिर्भर बनाउने योजना महानगरको रहेको छ उनले भन्निन–‘महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ समाजमा हेपिएका छन्, त्यसैले अव महिला स्वरोजगार बन्नुपर्छ ।’ महिलाकै लागी भनेर उनले यस वर्षबाट उपप्रमुखसंग महिला कार्यक्रम संचालन गर्ने तयारी भैरहेको बताइन् । ‘महिलालाई लक्षित गरेर उपप्रमुखसंग महिला कार्यक्रम ल्याएका छौ ।’ उक्त कार्यक्रमबाट महिलालाई उद्यमी बनाउन विना धितो ऋण दिने, उद्योग संचालन गर्ने र सिप सिकाउने लगायतका कार्यक्रममा खर्च गरिने बताइन् ।

उनले उपप्रमुखसंग महिला कार्यक्रम विशेष गरि महिलालाई लक्षित गरेर ल्याएको बताउदै उद्यमशीलता, तालिम, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा खर्च गरिने बताइन् । उपप्रमुखको कार्यक्रमका लागी २ करोड रुपैयाँ विनियोजना गरिएको उनले बताइन । ब्यवसायीक रुपमा झोला बुन्न आग्रह गदै आवश्यक सवै सहयोग महानगरले गर्ने बताइन् । उनले झोलाको बजारीकरणको लागी महानगरले जिम्मा लिने समेत बताइन् । ‘ब्यवसायीक रुपमा अगाडी बढे उत्पादित झोलाको बजारीकरण, सामाग्री, आर्थिक लगायत सवै सहयोग गर्नेछ ।’

वडा नम्वर १९ का अध्यक्ष शोभा मोहन पौडेलले झोला बुन्ने तालिममा सहभागीहरुको मेहनतबाट आफु उत्साहित भएको बताउदै यस ब्यवसायीक रुपमा अगाडी बढाइने बताए । सुकुम्वासी वस्ती भन्दा मानिसहरु नकरात्मक सोच राख्थे तर यहाँका महिलाहरुले सिक्ने क्रममा बनाएका झोला उत्कृष्ट भएको बताउदै ती झोलालाई अझै कलात्मकता दिएर बजारीकरणको ब्यवस्था मिलाउने बताए ।

जेठ ७ बाट सुरु भएको तालिम भदौ ७ गते समापन हुदैछ । तालिममा १६ जना महिलाले विहान १० देखि साँझ ४ बजेसम्म झोला बन्न सिकिरहेका छन् । महानगरले प्रत्येकलाई एक÷एक वटा तान सहित झोला बन्न आवश्यक सवै सामाग्री उपलब्ध गराएको छ भने सिक्न आउने सवैलाई खाजाको ब्यवस्था समेत गरेको छ । कार्यक्रमका संयोजक एवं महानगरपालिका वडा नम्वर १९ का सदस्य कोपिला के.सी ले तालिम संचालनका लागी आग्रह गरेको र उहाँहरुले सिप सिकेर ब्यवसायीक रुपमा गर्ने प्रतिबद्धता जनाएपछि तालिम संचालन गरिएको बताइन् । ‘ सुरुमा २६ जनाले तालिम लिने बताउनुभयो तर कोही वीचमा कहिले आउने र कहीले नआउने गरेपछि हामीले निरन्तर आउनेलाई मात्रै छनोट गरेर तालिम संचालन गरेका छौ ।’ प्रशिक्षक सरिता गुरुङले झोला बुन्ने तालिम दिदै आएकी छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top