हिमालय क्लवले विभिन्न श्रष्टालाई सम्मान गर्ने

पोखरा,  १ भाद्र l हिमालय क्लव पोखरा १६, बाटुलेचौरले विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्ति र संस्थालाई सम्मान गर्ने भएको छ । आगामी भदौ २३ गतेदेखि २७ गतेसम्म आयोजना हुने ऐतिहासिक बाटुलेचौर तीजमेलाका अवसरमा क्लवले पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशिल महिला पत्रकार सम्म्मानबाट सुष्मा पौडेल, लोक गायनको क्षेत्रमा सक्रिय सरस्वती लामिछाने, सुगम संगीतमा क्रियाशिल ईतु जोजीजू, भू.पू. खेलाडी सम्मानबाट पूर्व भलिवल खेलाडी हरि पराजुली र संस्थागत तर्फ प्रगति ईङ्लिस सेकेण्डरी स्कुललाई सम्मान गरिने क्लवका सचिव एव. मेलाका प्रचार संयोजक प्रकाश थापाले जानकारी दिनुभयो । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ऐतिहासिक तीज मेलालाई सफल बनाउन क्लवले तयारीलाई तिव्रता दिएको छ ।

पाँच दिनसम्म चल्ने मेलामा अन्तर विद्यालय स्तरीय छात्र,छात्रा ह्याण्डबल प्रतियोगिता, प्रथम हिमालय कप खुल्ला पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, समूहगत तीज गीत तथा नृत्य प्रस्तुती सहित विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने सोही दिन २ जना विपन्न एकल महिलालाई आर्थिक सहयोग तथा उत्कृष्ट जि.पि.ए. ल्याउने १, १ जना सरकारी विद्यालयका छात्र, छात्रालाई क्लवबाट संचालित पवित्रप्रेमनारायण स्मृति शैक्षिक पुरस्कार समेत प्रदान गरिने क्लवका अध्यक्ष मोहनबहादुर थापाले जानकारी दिनुभयो ।

मेलाको औपचारीक उद्घाटन भाद्र २६ गते हुने भएपनि मेलामा आयोजित ह्याण्डबलको उद्घाटन भाद्र २३ गते गरिने क्लवले जनाएको छ । सोही दिन पूर्व भलिवल खेलाडी हरि पराजुलीलाई सम्मान गरिने बताइएको छ । तीजको पुरानो भाका हम्काइलो भाकालाई संरक्षण गर्दै आइरहेको क्लवले भेला सम्पन्न गर्न क्लवका आजीवन सदस्य गुमादेवी अधिकारी गौतमको संयोजकत्वमा मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति समेत गठन गरेको छ । गठित विभिन्न उपसमितिले आ–आफ्नो जिम्मामा परेको कार्यलाई तिव्रता दिएको क्लवका सह–सचिव भीमबहादुर गायकले जानकारी दिनुभयो । मेलाको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्नुहुनेछ । परम्परादेखि नै तीज गीतका लागि प्रख्यात बाटुलेचौरको ऐतिहासिक पक्षलाई उजागर गर्न पनि तीजमेला सफल हुने स्थानियवासीको विश्वास छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top