पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर

तनहुँ, १ भदौ l तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५÷७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय गरेको हो । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ, कायोकिङ, क्यानोनिङ, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, जिप फ्ल्यायर, पाराग्लाइडिङ, ड्रोन क्यामेरा प्रयोग गरी भिडियोग्राफी र रयाफ्टिङ सेवा वा यसै प्रकृतिका साहसिक खेल र सम्बन्धित व्यवसाय सञ्चालन गरेबापत शुल्क लगाइने र असुल उपर गर्ने निर्णय गरेको छ ।

बन्दिपुरको समिभञ्ज्याङबाट सिमलटारसम्मको क्षेत्रमा पाराग्लाइडिङ उडानको लागि दैनिक १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष
पूर्णसिं थापाले जानकारी दिए । गाउँपालिकाले ट्रेकिङको लागि दैनिक १ सय, रक क्लाइम्बिङका लागि दैनिक १ सय, ड्रोन क्यामरा प्रयोगको लागि दैनिक १ सय, फिल्म सुटिङको लागि दैनिक १ हजार र भिडियो सुटिङका लागि दैनिक ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

वैशाखदेखि साउनसम्म कम पर्यटक आउने बन्दिपुरमा असोज÷कात्तिकदेखि पर्यटकको बाक्लो चहलपहल हुने गर्दछ । जाडोयाम सुरु हुने बेलामा बन्दिपुरमा
विदेशी पर्यटकको बढी चाप रहन्छ । यसैगरी पिकनिक स्पोर्टका लागि गाउँपालिकाले दैनिक १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top