लमजुङको दुई स्थानमा शंकास्पद बस्तु फेला

 लमजुङ, ३० साउन  । लमजुङको राईनासमा दुई स्थानमा शंकास्पद बस्तु फेला परेको छ । राईनास नगरपालिका ५ को सिम्ले र कैनिटार दुई स्थानमा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको स्थानीयलाई उदृत गर्दै डिएस्पी यादव ढकालले बताउनुभयो । एकाबिहानै उक्त शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


उत्त स्थानमा तत्काल ईलाका प्रहरी कार्यालय भोटेवडार र तिनपिप्ले प्रहरी चौकीका प्रहरी टोली खटाइ सुरक्षा दिइएको छ । शंकास्पद बस्तुलाई नियन्त्रण गर्न श्रीजंग गणको डिस्पोज टोली उत्त स्थानमा खटिएको गणका गणपति शिखर जवराले बताउनुभयो । गणपति जवराका अनुसार सिम्लेको शंकास्पद बस्तुलाई भने डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ । तर, बस्तु के हो भन्ने अझै एकिन भने नभएको डिस्पोज टोलीले जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको क्रममा उत्त बस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ ।


बन्दका कारण लमजुङको जनजीवन बिहानैदेखी प्रभावित भएको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । बजारहरु बन्द भएका छन् भने, शैक्षिक संस्था पनि विहानैदेखी ठप्प छन् । बन्दकर्ताहरु सडकमा देखिएका छैनन् । हरेक स्थानीय तहमा प्रहरी टोली परिचालन गरेको डिएस्पी ढकालले जानकारी दिनुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top