वैदेशिक यात्रा छोडेर कलाकारितामा व्यस्त

म्याग्दी,   २६ साउन l म्याग्दीका एक युवा विदेशबाट फर्किएर कलाकारितामा आफ्नो भविष्य खोज्दै छन् । बेनी नगरपालिका–९ घतानका रवी कार्की वैदेशिक यात्रा छोडेर कलाकारितामा व्यस्त हुन थालेका हुन् । करिब ४ वर्ष स्थानीय मिडियामा काम गरेका कार्की आर्थिक समस्याले मलेसिया पुगेका थिए । ११ महिना बसेर स्वास्थ्य समस्याले नेपाल फर्केका कार्कीलाई अहिले विभिन्न मेला, महोत्सवमा भ्याई नभ्याई छ ।


विदेशबाट फर्केर मिडियामा जोडिएका कार्की कलाकारितामा भविष्य देखेर पूरा समय खर्चदै आएका छन् । बाल्यकाल देखि नै हाँस्य अभिनय, गायन र नृत्यमा रुचि राख्ने कार्की अहिले जिल्लामा मात्र होइन, विदेशमा समेत आफ्नो कमेडी नृत्य देखाउन पुगेका छन् । मौलिक भेषभूषामा गर्ने अभिनयमा दर्शक रमाउन थालेपछि कार्कीको कलाकारिता भविष्य उज्ज्वल बन्दै गएको छ । २०७२ सालमा रघुगंगा  उँपालिका–३ पिप्ले कलेजबाङको न्यू लालीगुराँस युवा क्लबले नव वर्षको अवसरमा आयोजना गरेको मेलाबाट कलाकरितामा प्रवेश गरेका कार्की अहिले २ सय वटा मेला पर्वमा आफ्नो कला देखाइसकेको बताउँछन् ।

‘बादलभित्र लुक्ने जुन हुँ म’ बोलको पाहिलो गीत बजारमा ल्याएका कार्कीले आर्थिक उपार्जन बलियो बनाउँदै लगेका छन् । उनले ‘बेनी बजारमा झर मायालु’ लाई २९ लाख भन्दा बढीले युट्युबमार्फत अवलोकन गरेपछि मनोबल बढेको बताए । २७ वर्षका कार्कीले पत्थरीको अप्रेसन गर्दा लागेको ऋणसँगै कलाकारिताको माध्यमबाट परिवार चलाउँदै आएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top