सेञ्चुरी कमर्सियल बैंक को ८ वटा शाखा कार्यालय एकैसाथ सञ्चालनमा

पोखरा, २४ साउन l सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालय र प्रदेश अन्तर्गत ८ वटा शाखा कार्यालय एकैसाथ सञ्चालनमा ल्याएको छ । बैंकले  पोखराको बगर, बिरौटा, तालचोक, तनहुँको दुलेगौंडा र भीमाद, पर्वतको कुस्मा, बागलुङ र म्याग्दीको बेनीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बुधबार गरेका हुन् ।


८ वटा शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधि, स्थानीय व्यवसायी तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो । नयाँ शाखा कार्यालयमार्फत बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायत सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउने छ । शाखा कार्यालयहरुको उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखा र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

बैंकको गत असार मसान्तमा कुल निक्षेप ६१ अर्ब ३२ करोड तथा कुल कर्जा ५५ अर्ब पुगेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालयको सुरुआत गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top