ला—ग्रान्डी एक्स्पो सुरु

पोखरा, १९ साउन l  ला—ग्रान्डी इन्टरनेसनल कलेजले आयोजना गरेको दोस्रो ला—ग्राण्डी एक्स्पो २०१८ शुक्रबार देखि सुरु भएको छ । विद्यार्थीको प्रतिभा प्रदर्शनी, क्षमता अभिवृद्घि र रचनात्मक कार्य गर्न हौसला एवं अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालित एक्स्पो शनिबारसम्म चल्नेछ । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले प्राज्ञिक क्षेत्रले विद्यार्थीको मात्र नभएर देशको भविश्य निर्धारण गर्ने बताए । त्यसैले शिक्षा क्षेत्र सेवामूलक बन्न पर्ने उनले उल्लेख गरे ।

‘शिक्षा ज्ञानमूलक र  व्यवहारिक हुन जरुरी छ, ’ प्रदेश प्रमुख कुँवरले भने, ‘शिक्षामा सबैको पहुच पुगेर सर्वसुलभ बन्नै पर्छ । शैक्षिक संस्थाहरुले सबै शीर्षक शुल्क उठाएपछि विविधका नाममा उठाउने गरेको उल्लेख गर्दै प्रदेश प्रमुख कुवर अहिलेको १ महिना बराबरको शुल्कले आफूले कक्षा १ देखि मास्र्टर डिग्री गरेको उदाहरण पेश गरे । उनले प्राचीन कालमा कठोर अनुशासन र तपस्याबाट दीक्षित हुने
गरेको बताए । उनले विना अनुशासन र कठोर तपस्या विना ज्ञान प्राप्त गर्न नसकिने धारणा राखेका छन् ।

प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसीले सार्वजनिक शिक्षामा ठूलो राजनीतिक हस्तक्षेप भएको बताए । शैक्षिक क्षेत्रमा सुधार हुन  नसक्नुमा राजनीतिक पार्टीहरु दोषी रहेको दाबी गर्दै उनले दलका नेताहरुले विद्यार्थीलाई तोडफोड र आन्दोलन गर्न सिकाएको उल्लेख
गरे । गण्डकी प्रदेश सभाका सांसद विन्दुकुमार थापाले प्राविधिक शिक्षामा जोड दिएको खण्डमा रोजगारीको लागि भौतारिन नपर्ने बताएका छन् ।

उनले गण्डकी प्रदेशले प्रदेश स्तरीय प्राविधिक विश्वविद्यालय खोल्न लागेको जानकारी दिए । गण्डकी प्रदेश सभाका सांसद दीपक कोइरालाले समुदायमा आधारित शैक्षिक गतिविधि गर्न सुझाव दिए । उनले शिक्षालाई समाजसँग जोड्नपर्ने धारणा राखे । पोखरा विश्वविद्यालयका रजिस्टार गोविन्द शर्माले राष्ट्रिय स्तरको संरचना भएको पोखरा विश्वविद्यालयलाई प्रान्तीय रुपमा रुपान्तरण गरे राष्ट्रले
ठूलो क्षति व्यहोर्ने बताए । कलेजका अध्यक्ष देवराज चालिसेले शिक्षा र स्वास्थ्यको प्रमुख दायित्व सरकारका हुनपर्ने धारणा राखे ।

कलेजका प्रिन्सिपल इ. किरण केसीले कलेजले समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । उनले सूचना प्रविधि, व्यवस्थापन र स्वास्थ्य क्षेत्रको महत्व र अवसरबारे सचेतना जगाउने लक्ष्यका साथ सञ्चालित एक्स्पोमा १६ वटा विभिन्न विधाका स्टल राखिएको जानकारी दिए । प्रिन्सिपल केसीले एक्स्पोमा सफ्टवेयर परियोजना प्रदर्शनी, सफ्टवेयर प्रतियोगिता, स्तनपान र स्तन क्यान्सरका बारेमा गोष्ठी, फोहोरमैला व्यवस्थापन बारे अन्तक्र्रिया, स्वास्थ्य प्रशासनका बारेमा विचार गोष्ठी हुने बताए । एक्पोमा अन्तर क्याम्पस पेपर प्रस्तुति,
अन्तर कलेज फिल्ड रिसर्च र प्रस्तुति प्रतियोगिता, जागिर आवेदन र बायोडाटा लेखन प्रतियोगिता, कला प्रदर्शनी, प्लास्टिक पुन प्रयोगबारे
प्रदर्शनी लगायत कार्यक्रम समेटिएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top