लामो समयदेखि सांगीतिक कर्म गरिरहेकी रजनी समता सांगीतिक कार्यक्रममा विशेष गायिकाको रुपमा प्रस्तुत

पाेखरा, १३  साउन  l   लामो समयदेखि पोखरामा सांगीतिक कर्म गरिरहेकी रजनीरिदम राई शनिबार समता सांगीतिक कार्यक्रममा विशेष गायिकाको रुपमा प्रस्तुत भइन् । दार्जिलिङमा जन्मेर पोखरालाई संगीतकर्मको थलो बनाएकी राइलाई पोखरेली युवा सांस्कृतिक परिवारले समता सांगीतिक कार्यक्रममा विशेष गायिकाको रुपमा शनिबार संगीत पारखीमाझ ल्याएको हो । राईले ३ वटा गीत प्रस्तुत गरिन् । राईले आफ्नोभन्दा पनि ख्यातिप्राप्त गायकगायिकाको चर्चित गीतहरु गाइन् । अरुण थापाको आवाजमा रहेको सदाबहार गीत ‘ आँखाको निदहरु खोसीलाने’ गीतबाट गायन सुरु गरेकी राईले दोस्रो गीत अरुणा लामाको अर्को अजम्बरी गीत ‘पोहोर साल खुसी फाट्दा’ गाएर सबैको मन जितिन् ।

आशा भोस्लेले गाएको चर्चित गीत ‘म प्यार बेचिदिन्छु’ गाउँदा उपस्थितसबैको हौसला र तालीले साथ पाइन् । राईले रुपै राम्रो रुपा तालको,सुनखरी सुनगाभा, नीलगिरिका काखैमा, माया बस्यो लगायत चर्चित गीत गाएकी छन् । गाउँका गीत र  गुरुङ भाषाका गीतसमेत गाएर उनले धेरैको मन जितेकी छन् । दुई–दुई महिनाको बीचमा दोस्रो शनिबार हुँदै आएको समता सांगीतिक कार्यक्रममा उनीसहित १२ जनाले प्रस्तुति दिएको संगीत संयोजक श्रीमान थुलुङले जानकारी दिए । कार्यक्रममा गायक आनन्द बज्राचार्य, दिवाकर भण्डारी, उमेश राई, प्रमिला बराल, सन्तोष पराजुली, निलीमा थापा लगायत गायक गायिकाले प्रस्तुति राखेका थिए ।

कार्यक्रममा सप्तरंगी सांगीतिक प्रतिष्ठानका अध्यक्ष गायक पदमराज ढकालले समता सांगीतिक कार्यक्रम नयाँ तथा पुराना गायक गायिकाको साझा थलो रहेको बताए । उनले आफ्ना केही मौलिक गीतका टुक्रा पनि प्रस्तुत गरेका थिए । परिवारका अध्यक्ष दीपक समीपको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव सन्तोष बस्यालले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top