गजल सन्ध्यामा २ लाखको अक्षयकोष स्थापना

पोखरा,२४ असार । साहित्यकार ढाका थापाले गजल सन्ध्या पोखरामा २ लाखको अक्षयकोष स्थापना गरेका छन् । शनिबार सन्ध्याका अध्यक्ष अमृत सुवेदीलाई थापाले २ लाख २ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् ।

थापाले साहित्यप्रतिको अनुरागले नामको लोभ र धन भएर भन्दा पनि मनले अक्षयकोष स्थापन गर्न प्रेरित गरेकाले यो कार्य गरेको धारणा राखे । ‘गण्डकी प्रदेशमा मात्रै नभई देशभरिमै गजलमार्फत् प्राज्ञिक कर्म गर्ने संस्थाका रुपमा गजल सन्ध्या रहेको पाएँ’, थापाले भने, ‘यो प्रदेशको साहित्यिक प्रतिष्ठा उँचो बनाउने विश्वासले मैले सन्ध्यासँग सहकार्य गर्न चाहेको हुँ । सन्ध्याका अध्यक्ष अमृत सुवेदीले थापाले स्थापना गरेका कोषबाट विश्वका जुनसुकै भूभागमा रहेर पनि नेपाली गजलको उत्थानका लागि कार्य गरेका अग्रज व्यक्तित्वलाई नगदसहित सम्मान गरिने जानकारी दिए । सन्ध्याको इतिहासमा एउटा सुनौलो रेखा थापाको कदमले कोर्ने बताउँदै सुवेदीले शुभेच्छुकहरुकै साथले गजल सन्ध्या अघि बढेको बताए ।

सन्ध्याका सल्लाहकार साहित्यकार तीर्थ श्रेष्ठले ढाका थापा जस्ता निःस्थार्थी साहित्यप्रेमीहरुको साथले नेपाली साहित्य अघि बढ्ने भन्दै थापाको प्रशंसा गरे । उनले पोखरेली गजलको छवि सिङ्गो नेपाली साहित्य जगतमा पुर्याउन गजल सन्ध्याको भूमिका महत्त्वपूर्ण रहेको श्रेष्ठको विचार थियो । गजल प्रतिभा सम्मानका लागि अक्षयकोष स्थापना हुनुले यसमा थप ईंट्टा थपेको धारणा श्रेष्ठे राखे ।

गजल प्रतिभा सम्मान विनियम मस्यौदा समितिका संयोजक रुपिन्द्र प्रभावीले हरेक दुई वर्षमा सो सम्मान प्रदान गर्ने लक्ष्य राखिएको बताए । सन्ध्याले दिँदै आएको सम्मान अबदेखि नगदसहित प्रदान गरिने उनको भनाइ थियो । सो अवसरमा अवसरमा सन्ध्याका सल्लाहकार दीपक समीप, मन क्षेत्री, उदिपराज ढुङ्गाना, कपिल शर्मा, बिर्सना बस्नेत, सचिव वसन्त विनोद, सदस्य त्रुपकलगायतले ढाका थापाले अक्षयकोष स्थापना गरेकामा धन्यवाद ज्ञापन गरेका थिए । सन्ध्याद्वारा सञ्चालित गजल प्रतिभा पुरस्कारका लागि यसअघि एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित