भाग्यले बाँचेकाहरुले युएईमा राजदूतलाई रुवायो

युएई, ६ असार । चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले युएईमा नेपालीहरूको मन जितेको छ । २०७२ सालको विनाशकारी भूकम्पमा परेर मुस्किलले ज्यान बचाएकाहरुमा केन्द्रित वृत्तचित्र आबुधाबी, सारजाह र दुवईमा प्रदर्शन गरिएको हो ।

शुक्रबारदेखि सुरू भएको प्रदर्शनी यात्रा पहिलोपटक आबुधाबीको मजदुर क्याम्प नजिक मुसाफाको अलअहलिया अस्पतालको सभाहलमा गरिएको थियो । कार्यक्रमलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोनमार्फत सम्बोधन गरेका पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङले युएईबाट जानकारी दिए ।

लमजुङ समाज युएईको स्थानीय आयोजना साथै तमु प्ये ल्हु संघ युएई शाखा लगायतको सहयोगमा भएको प्रदर्शनमा वृत्तचित्र हेर्ने अधिकांश नेपाली कामदारहरु भक्कानिएर रोएका लमजुङ समाज युएईका अध्यक्ष महेश पराजुलीले बताए । ‘आफ्नो गाउँ दुखेको कथा जस्ताको त्यस्तै देख्न पर्दा आँशु रोक्नै सकिएन’ सोलुखुम्बुकी सन्जिता गुरुङले भनिन् ।

उनी भाग्यले बाँचेकाहरु हेर्न आबुधाबीदेखि झन्डै ५ घण्टा टाढा अलऐन हुँदै ओमान सिमानाबाट आबुधाबीको मुसाफा आएकी थिइन् । यस्तै, वृत्तचित्र प्रदर्शन गरिएको दुबइ र सारजाहमा हेर्ने दर्शक पनि उसै गरी भक्कानिए । वृत्तचित्र हेर्दा कसैका आँखा अभोनो भएनन, जत्तिपटक हेरे पनि दर्शक रोएपछि आफ्ना पनि आँखा रसाउने गरेको कार्यक्रम संयोजक तथा लमजुङ समाजका उपाध्यक्ष बाबुराम सापकोटाले बताए ।

त्यसो त युएईमा वृत्तचित्र हेर्ने आम श्रमिक मात्रै होइन्, दुतावासका अधिकारी समेत एकसाथ भक्कानिए । सोमबार आबुधाबीमा रहेको नेपाली दुतावासको सभाहलमा भएको शो मा आबुधाबीको एउटा स्थानीय बिधालयमा अध्यापन गराउँदै आएकी शिक्षिका चन्द्रकला राई आफ्नो देश दुखेको र नेपालीको शिर जस्तो धरहरा ढलेको देखेर भक्कानिइन् ।

देशले पाएको क्षति तुलना गर्ननै नसकिने रहेछ, आफ्नै आँखाले भाग्यले बाँचेकाहरु देख्न पाउँदा आँखाबाट आँशु आफुले रोक्न नसकेको राईले बताइन् । त्यसो त नेपाली दुतावासका कार्यबाहक राजदुत सागरप्रसाद फुयाँल, द्वितिय सचिव बिष्णु अधिकारी, श्रम सहचारी मोतिराम भुसालका आँखा रसाइरहेका थिए । गृहजिल्ला गोरखा र त्यसमा पनि देशले भोगेको पीडा फेरि आफू कार्यरत देशको नियोगमै हेर्दा आफूले आँशु थाम्न नसकेको द्वितीय सचिव अधिकारीले बताइन् । लमजुङ समाज युएईका महासचिव शिवजंग गुरुङका अनुसार बृत्तचित्र हेरेर धेरैका आँखा रसाए । कार्यक्रम व्यवस्थाप अर्जुनबहादुर गौलीले घटना घट्दा नेपालमै हुनेहरु सम्झिएर भक्कानिए, यहीं हुनेहरु यस्तो अवस्थामा पनि घर जान नसकेको बाध्यतात्मक परिस्थितिलाई सम्झेर रोए । तमु प्ये ल्हु संघका अध्यक्ष ओम गुरुङले भूकम्पको सदैव याद दिलाइदिने र भूकम्पबाट जोगिनुपर्ने उपायलाई सिकाउने खालको बृत्तचित्र हेर्नै पाउँदा भाग्यमानी ठानेको बताए ।

दुतावासद्वारा सम्मान स्वरुप प्रशंशापत्र

बेलायत लगायत अन्य देशका संसदमा समेत देखाइसकिएको र बिभिन्न १७ वटा अन्तरास्ट्रिय अवार्डसम्म पाएको तथा संसारभर नेपाललाई पहिचान गराउन सफल भएकोमा वृत्तचित्रका निर्देशक गणेश पाण्डे तथा निर्मात्री शारदा गैरेलाई दुतावासले सम्मान स्वरुप प्रशंशापत्र प्रदान गरेको छ । प्रशंशापत्र प्रदान गर्दै कार्यबाहक राजदूत सागरप्रसाद फुंयालले सरकारले सन् २०२० लाई भिजिट बर्षको रुपमा मनाउन लागेकोले आगामी दिनमा नेपालको पर्यटक प्रबर्धन समेत सहयोग पुग्ने खालका सामाग्री निर्माण गर्न पाण्डेलाई सुझाए ।

प्रदर्शनीका लागि वृत्तचित्रका निर्देशक पाण्डे, निर्मात्री गैरे तथा पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष एवं कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङ युएई आएका थिए । उनीहरू तीनै जनालाई लमजुङ समाज युएईले ताम्रपत्र द्वारा सम्मान गरेको छ । यस्तै, तमु प्ये ल्हु संघ युएई शाखा र ब्यक्तिगत रुपमा तमु प्ये ल्हु संघ युएई शाखाको महिला विभाग प्रमुख मीरा गुरुङले तिनैजनालाई सम्मान गरेको थियो । बृत्तचित्र प्रदर्शन कार्यक्रममा एनआरएन युएई, नेपाली समाज, तमु समाज लगायत बिभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति थियो ।

युएईमा वृत्तचित्र पुनः प्रदर्शन गर्न धेरैले अनुरोध गरेको र सम्भव भए फेरी पनि प्रदशन गरिने निर्देशक पाण्डेले बताए । भाग्यले बाँचेकाहरू युएईसहित विश्वका ३२ मुलुकका ७५ भन्दा धेरै ठाउँमा देखाइसकिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित