बराम भाषाको पाठ्यपुस्तक “निगो बाल्कुरा” को बिमोचन

 गोरखा, २६ जेठ । नेपालको अतिसिमान्तकृत जाति मध्येको बराम जातिको मातृभाषामा आधारित पाठ्यपुस्तक “निगो बाल्कुरा” को एक औपचारिक कार्यक्रमका बिच बिमोचन गरिएको छ । बराम समुदायको बहुल्यता रहेको गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ ताकुकोटमा बिहिबार गाउँपालिका प्रमुख बिष्णु प्रसाद भट्ट, उपप्रमुख सनमाया गुरुङ र नेपाल बराम सँघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर बराम लगायतले बिमोचन गरेका हुन ।

सोही अबसरमा बोल्दै गाउँपालिका प्रमुख भट्टले बराम जातिको भाषा, तथा कला संस्कृती संरक्षण गर्न अपरिहार्य रहको बताए । उनले आफ्नो कार्य क्षेत्र भित्र अधिकांश बराम समुदायको सघन बस्ती रहेको उल्लेख गर्दै बारपाक सुलिकोट गाउँपालिकाले ८ लाख रुपैया बजेट बिनियोजन गरिसकेको र आगामी दिनमा नितिगत रुपमै कदम चाल्ने बताए ।

औपचारिक रुपमा शिक्षा सुरु गर्न यस बर्ष ढिलो भैसक्यो, उनले भने “संबिधानमा उल्लेख गरीएको प्रावधान अनुसार अर्काे बर्ष स्थानीय बिद्यालयमा ऐच्छिक बिषयको रुपमा पढाई सुरु गर्नेछौ । भट्टले औपचारिक शिक्षाले मात्र भाषा संरक्षणमा टेवा नपुग्ने बताउदै मातृभाषा प्रयोग गर्ने भाषिकाहरुले घरघरमा समेत आफ्ना बालबालिकाहरु सँग मातृभाषा बोेल्ने बानीको बिकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै बराम जातिको अनुसन्धानकर्ता भद्र कुमारी बरामले पछिल्लो समय आफ्नो जातिको भाषा लोप हुन लागेकोले चन्ता बढ्न थालेको बताईन । उनले पछिल्लो तथ्याङ्क अनुसार २४२ जना मात्र मातृभाषा बोल्ने भाषिकाहरु रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रबद्र्धनको लागी अनौपचारिक रुपमा सिक्नैपर्ने बताईन । नेपाली वर्णमालाकै स्वर र व्यञ्जनवर्णद्धारा शब्दहरु बन्ने गरेका छन, उनले भनिन त्यसैले बराम सँगै गैरबराम समुदायले समेत सहजै भाषा सिक्न सक्छन ।”

त्यसैगरी नेपाल बराम सँघका संस्थापक अध्यक्ष प्रेम बहादुर बरामले अतिसिमान्तकृत बराम समुदायहरु अब राज्यको पहुँच नजिक पुग्नैपर्ने बताए । उनका अनुसार २०६८ सालको जनगणना अनुसार नेपालभरी बराम जातिको कुल जनसँख्या ८ हजार १ सय ४० रहेको छ । आफ्नो समुदायको पहिचान तथा अस्तित्व जोगाउनककै लागी अनौपचारिक रुपमा भाषा सञ्चालन सँगै सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको बताए । आगामी बर्षदेखी बारपाक सुलिकोट गाउँपालिका भित्र रहेका बिद्यालयहरुका १ दखी ३ कक्षा सम्म ऐच्छिक रुपमा औपचारिक शिक्षाको सञ्चालन गर्नको लागी कानुनी प्रकृयामै छौ, उनले भने “सम्बन्धित निकायले प्रकृयामा ढिलासुस्ती र बेवास्ता गरेको खण्डमा संबिधानमा उल्लेख गरेको प्राबधान अनुसार हामी मुद्धा लड्न समेत पछि पर्दैनौ ।

सो कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका उपप्रमुख सनमाया गुरुङ, बराम समुदायको अनुसन्धानकर्ता भद्र कुमारी बराम, गोरखा जिल्ला समन्वय समितिका सदस्य तेज बहादुर बराम, बेनीघाट रोराङ कार्यपालिका सदस्य राम बहादुर बराम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बारपाक सुलिकोट बराम उपभोक्ता अध्यक्ष बिर बहादुर बरामको सभापतित्वमा सम्पन्न कार्यक्रममा ईश्वर बरामले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन धन बहादुर बरामले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top