पर्यटनमन्त्री अधिकारीको मौनतासँग पोखेली आक्रोसितSamacharpati        

पर्यटनमन्त्री अधिकारीको मौनतासँग पोखेली आक्रोसित

पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानको लागि अनुचित भएको प्रतिवेदनप्रति आपत्ति

पोखरा, २५ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ समूहको ‘पोखरा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानको लागि ठीक नभएको’ भन्ने प्रतिवेदनप्रति पोखरामा तीब्र रोश प्रकट भएको छ । पोखरेलीहरुले विमानस्थल निर्माणले गति लिएको बेला सार्वजनिक भएको प्रतिवेदन समग्र प्रदेश नम्बर ४ प्रतिको पूर्वाग्रह भएको भन्दै असन्तुष्टी जनाएका छन् ।

‘यो प्रतिवेदन षड्यन्त्रपूर्ण छ’, पोखरा उद्योग वाणिज्य संघले शुक्रबार विमानस्थल निर्माण र यसको वास्तविकता’ विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले भने,‘मन्त्रीबाट गठन भएको समूहले दिएको प्रतिवेदनले हामी आश्चर्यचकित भएका छौँ, यो मन्न्त्रीमाथिको पनि प्रश्न हो ।’

यतिबेला पोखराकै रवीन्द्र अधिकारी पर्यटन मन्त्री छन् । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको एजेण्डालाई उनले पटक पटकको चुनावमा उठाउँदै आएका थिए । पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा विमानस्थल निर्माणको लागि दवाब दिन आयोजना भएको अनसन कार्यक्रममा पनि उनको सक्रिय सहभागिता रहेको थियो । त्यसैगरी सिँहदरबार घेराऊ कार्यक्रमलगायतका सबैजसो आन्दोलनमा उनी अग्रमोर्चामा रहँदै आएका थिए । उनै अधिकारी मन्त्री भएको बेला उनले नै गठन गरेको समितिले पोखरा विमानस्थलबारे दिएको प्रतिवदेनपछि भने पोखरा क्षेत्रमा उनको आलोचना हुन थालेको हो ।

संचारमाध्यमको नजिक रहेका तथा निरन्तर सामाजिक संजालमा सक्रिय मन्त्री अधिकारी विज्ञ समूहको प्रतिवेदनबारे मौन छन् । ‘यतिबेला काठमाण्डौंलाई केन्द्र मान्ने स्वनामधन्यहरुले मन्त्री ( रवीन्द्र)को काँधमा बन्दुक राखेर आफ्नो काम गर्र्दै आएका छन्’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सोही कार्यक्रममा भने,‘काठमाण्डौंको नेक्सस ठूलो छ,त्यही समूहले फेवातालमा गलत गर्नेहरुलाई विज्ञ टोलीमा राख्न सफल भएका हुन् ।’

उनको भनाई कर्ण शाक्यका छोरा सुनिल शाक्यलाई विज्ञ समूहमा राखेकोप्रति लक्षित थियो । मन्त्रीप्रति आक्रामक रुपमा प्रस्तुत भएका मुल्मीले मन्त्रीकै निर्देशनमा यो गतिविधी भएको त होइन भन्ने प्रश्नसमेत गरे । नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले पोखरामा विमानस्थल निर्माण अभियानलाई कसैले रोक्न खोजे त्यसको कडा प्रतिवाद गरिने बताए । उनले केन्द्र सरकारले विमानस्थल बनाउन आलटाल गरे प्रदेश सरकारले ऋण लिएर भए पनि विमानस्थल बनाउनुपर्नेमा जोड दिए । पर्यटन मन्त्री अधिकारी पोखराकै भए पनि उनले पोखरा र समग्र प्रदेशको जनताको भावनामाथि खेलबाड गरेको उनको आरोप थियो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङ‘करण’ले कथित विज्ञहरुको टोलीले दिएको प्रतिवेदनलाई दुर्भाग्यपूर्ण बताउँदै सो प्रतिवेदनलाई केटाकेटीपनको संज्ञा दिए । पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले थानकोट पनि नकटेका केही व्यक्तिहरुले तीनपुस्ते पोखरेलीको सपनामाथि धावा बोल्न खोजेको गुनासो गरे । अर्का पूर्व अध्यक्ष प्रकाश खनालले पोखरा विमानस्थल मन्त्रीको गोजीबाट नभई पोखरेलीको संघर्षबाट आएको बताउँदै मन्त्रीको गलत क्रियाकलापको प्रतिवाद गर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा, व्यवसायीहरु केशव खत्री, रामजी बास्तोलालगायतले विमानस्थल निर्माणबारे देखिएको अन्यौलता अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिवेदन बेमौषमी बाजा ः मूख्यमन्त्री गुरुङ

प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समूहको प्रतिवेदनलाई बेमौषमी बाजाको संज्ञा दिएका छन् । ‘यो बेलामा के को विज्ञ समूह ?  पोखरा उद्योग वाणिज्य संघले पोखरा विमानस्थल निर्माणप्रति विज्ञ समूहको नाममा आएको प्रतिवेदनप्रति असन्तुष्टी जाहेर गर्दै ज्ञापनपत्र बुझाएपछि उनले भने,‘पोखरामा जसरी पनि एयरपोर्ट बन्छ, अझ यसको रनवे ५ सय मिटर थपिन्छ ।’

उनले पर्यटनमन्त्री रवीन्द्र अधिकारीले गठन गरेको विज्ञ समूहलाई औचित्यहीन भएको बताए । केन्द्र सरकारले प्रदेशहरुलाई अधिकार दिन आनाकानी गर्दै आएको अभिव्यक्ति दिँदै आएका मूख्यमन्त्री गुरुङले आफू पर्यटनमन्त्री हुँदा देखि नै विमानस्थलको जग्गा मुआब्जा र निर्माण कार्यलाई अगाडि बढाउन खेलेको भूमिकाको स्मरण पनि गरे ।

पोखरा उद्योग वाणिज्य संघले बुझाएको ज्ञापनपत्रमा कथित विज्ञ समूहको नाममा आएको ज्ञापनपत्रको भत्र्सना गर्दै आवश्यक परे कडा आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।

 

ज्ञापन पत्र

माननीय पृथ्वीसुब्बा गुरुङज्यू,

मूख्यमन्त्री

प्रदेश नम्बर ४

महोदय, उपर्युक्त सम्बन्धमा मित्रराष्ट्र चीन सरकारको सदासयतामा त्यहाँको एक्जिम बैंकको ऋण सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य थालनी भएको यहाँलाई ज्ञात नै छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रदेश नम्बर ४ का आम जनताको सपना मात्र होइन, यो क्षेत्रको सम्वृद्धि र समुन्नतिको लागि अपरिहार्य हो भन्ने हाम्रो ठहर रहेको छ । यही यथार्थतको धरातलमा उभिएर पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा हामीले विमानस्थल निर्माणको लागि पैरवी मात्र गरेका छैनौँ, सम्भवत् ः नेपालको इतिहासमा नै सबैभन्दा लामो रिले अनसनमार्फत सरकारलाई दवाब पनि दिएको हामी स्मरण गर्न चाहन्छौँ ।

२०३१ सालमा जग्गा अधिग्रहण्ण भएर पनि लामो समयसम्म पोखरामा विमानस्थल बन्न नदिन र नबनाउनको लागि दृष्य÷अदृष्य रुपमा भएका खेलहरुलाई परास्त गर्दै अहिले विमानस्थल निर्माणले गति लिएको छ । पोखरा विमानस्थलको निर्माणसँगै यो प्रदेशको सम्बृद्धि एवं राष्ट्रिय÷अन्तर्राष्ट्रिय सम्पर्कको सपना देखिरहकै बेला अकस्मात नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित ‘कथित’ विज्ञ समूहबाट ‘पोखरा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानको लागि योग्य नभएको’ भन्ने प्रतिवेदन सार्वजनिक भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

मित्रराष्ट्रको सदासयतामा निर्माणाधिन विमानस्थलबारे आएको यो टिप्पणी केन्द्रिकृत एवं असन्तुलित मगजको सोच भएको हाम्रो ठम्याई रहेको छ । विमानस्थल निर्माणले गति लिएको बेला आएको यो प्रतिवेदन केन्द्रिकृत मानशिकताको पराकाष्ठा हो । सम्पूर्ण प्रदेश नम्बर ४ का जनताको भावनामाथि चिसो पानी खन्याउने यो प्रतिवेदनको जति भत्र्सना गरे पनि कम हुन्छ भन्ने हाम्रो ठहर रहेको छ । देश भर्खरै संघीय संरचनामा गएको छ । माननीय मूख्यमन्त्रीज्यूले केन्द्र सरकार प्रदेशप्रति अनुदार बनेको अभिव्यक्ति भित्रको यथार्थता पनि यो प्रतिवेदनले प्रष्ट पारेको हामीले महशुस गरेका छौँ ।

अत ः विमानस्थल निर्माणले गति लिँदै गर्दा भविष्यको आँकलन गर्दै विमानस्थलको निर्माणलाई प्रभाव पार्ने गरी आएको प्रतिवदेन खारेज गर्न तथा सार्वजनिक रुपले नै विमानस्थल निर्माणको सुनिश्चितता प्रदान गर्नको लागि हामी सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ ।

विमानस्थल निर्माणसँग हाम्रो सपना गाँसिएको छ । भविष्य जोडिएको छ । हाम्रो भावनासँग जोडिएको संवेदनशील विषयलाई कहीँ कसैबाट पनि नजरअन्दाज गरिएमा हामी कडाभन्दा कडा संघर्षको कार्यक्रममा जान बाध्य हुने पनि जानकारी गराउन चाहन्छौँ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित