सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको प्रमाणित गर्न जनप्रतिनिधीको चुनौती

पोखरा, ९ जेठ l कुस्मा नगरपालिका वडा नं १४ का जनप्रतिनिधीहरुले सामाजिक सुरक्षाभत्ता दुरुपयोग नभएको स्पष्ट पारेका छन । केही दिन यता बिभिन्न सञ्चार माध्यममा जनप्रतिनिधीले मृतकको सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको समाचार प्रकाशनमा आएपछि जनप्रतिनिधीले बिज्ञप्ती जारी गर्दै मृतकका नाममा बैंकमा खातामा रहेको रकम हकवालाले बुझ्ने ब्यबस्था भएको र रकम नबुझेका मृतकको नामको रकम बैंक खातामा नै रहेको स्पष्ट पारेका हुन । उनीहरुले जनप्रतिनिधीले एक रुपैया पनि दुरुपयोग गरेको भए प्रमाणित गरिदिन चुनौती समेत दिएका छन ।

डा अध्यक्ष भीमप्रसाद गुरुङ्ग सहित पाँच जना जनप्रतिनिधीहरुले बिज्ञप्ती प्रकाशित गर्दै जनप्रतिनिधी आएपछि जेष्ठ नागरिक, एकल महिला र दलित जेष्ठ नागरिकलाई सेवा दिने उद्देश्यले गाउँमा बैंकका कर्मचारीको रोहबरमा सम्बन्धित ब्यक्तिले चेकमा हस्ताक्षर गरेर रकम बुझाएको स्पष्ट पारेका हुन । २०७४ पौष १ गते गरिमा बिकास बैंक कुस्माबाट खटिएका कर्मचारीले उपस्थित भएका लाभग्राही र निजका हकवालालाई रकम बुझाएपछि बैंकले कार्यालयमा फर्केपछि मात्रै खाताबाट रकम कट्टा गरेका थिए । तर वडा अध्यक्ष र सदस्यहरुले मृतकका आफन्तको रकम बुझेको भनि कपोकल्पित र भ्रामक समाचार प्रकाशन भएको जनप्रतिनिधीले बताएका छन । गत स्थानिय निर्वाचनमा पराजित भएका उमेदवारले झुटो भ्रम फिजाएर सामाजिक प्रतिष्ठा गिराउने प्रयास गरेको आरोप समेत जनप्रतिनिधीले लगाएका छन । सामाजिक सुरक्षाभत्ता बितरण गर्न बैंकबाट कर्मचारीहरु एक दिन गाउँमै बसेर फर्केको र चेक र बाँकी रकम समेत बैंकका कर्मचारीले नै लिएर फर्केको अबस्थामा गलत आरोप लगाउने काम भएको उनीहरुले स्पष्ट पारेका छन ।

कुस्मा नगरपालिका वडा नं १४ का अध्यक्ष भीमप्रसाद गुरुङ्गका अनुसार आधा बासिन्दाहरु पोखरा लगायतका शहर र बिदेशमा बस्दै आएका छन । सामाजिक सृुरक्षाभत्ता पाउने हरेक ब्यक्तिका नाममा गरिमा बिकास बैंक कुस्मा शाखामा ब्यक्तिगत खाता रहेको छ । नगरपालिकाले ब्यक्तिगत खातामा नै सामाजिक सुरक्षाभत्ता निकासा गर्दै आएको छ । यसरी निकासा भएको रकम गाउँमा बितरण गर्दा बैंकका कर्मचारीले सम्बन्धित ब्यक्तिलाई चेकमा हस्ताक्षर गराएर मात्रै दिएका थिए भने अन्यको हकमा भने बैंकमा नै पुगेर स्वयम ब्यक्ति वा निजको हकवाला र इच्छाको ब्यक्तिले रकम बुझ्ने ब्यबस्था छ । वडा कार्यालयले मृत्यु भएका ब्यक्तिहरुको वडा कार्यालयमा जानकारी भएका सबैको ब्यक्तिगत खाता समेत रोक्का गरेको छ । रकम खातामा भएपनि धेरै मृतकका आफन्तले रकम निकालेका छैनन । उक्त रकम राजस्वमा फिर्ता जाने ब्यबस्था छ ।

गरिमा बिकास बैंक कुस्माका प्रमुख प्रेमकिशोर अर्यालका अनुसार गाउँमा सामाजिक सुरक्षाभत्ता बितरण गर्दा पनि चेकमा ब्यक्तिको हस्ताक्षर गरेर बितरण गरेको बताए । वडामा उपस्थित नभएका ब्यक्ति र इच्छाइएका ब्यक्तिले बैंकका बिभिन्न शाखामा पुगेर रकम बुझ्दै आएका छन ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top