भूकम्पको पीडामा नाकाबन्दीको नूनचुक लगाउने मोदीले माफी माग्नु पर्ने नेपाली नागरिकको माग

काठमाडौं, २७ वैशाख l भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी पूरा भएको छ । उनले शुक्रबारबाट नेपाल भ्रमण गर्दैछन् । जनकपुरबाट नेपाल भ्रमण सुरु गर्न लागेका मोदी विवादित देखिएका छन् ।

सरकार र राजनीतिक तहबाट उनको भ्रमणको आवश्यता पुष्टि गर्न खोजिए पनि आम नागरिकस्तरमा भने विरोध देखिन्छ । सामाजिक सञ्जालदेखि चिया पसलसम्म मोदीको नेपाल भ्रमणको विरोध भइरहेको छ । आखिरी नागरिकस्तरबाट विरोध भइरहँदा मोदी किन नेपाल आउन चाहन्छन् ? नेपाल सरकारले उनलाई किन नेपाल ल्याउन चाहन्छ ? मोदीको भ्रमणले नेपाललाई के फाइदा हुन्छ ? मोदी नेपाल आउँदा भारतलाई कस्तो लाभ हुन्छ ? यहाँ मुलुक र जनताको हित, लाभ र फाइदाको लेखाजोखा नभएर राजनीतिक दलका नेता र उनीहरुको व्यक्तिगत लाभका लागि मोदीको नेपाल भ्रमण हुँदैछ ।

प्रधानमन्त्री भएपछि पहिलोपटक नेपाल आउँदा वाही वाही कमाएका मोदीले नाकाबन्दी लगाएपछि मोदी र उनको सरकारको नेपालीले विरोध गरेका थिए । तर  नेपालीले भारतीय नागरिक र भारत देशप्रति सम्मान व्यक्त गर्न आजसम्म छाडेका छैनन् । तर, भूकम्पको पीडामा नाकाबन्दीको नूनचुक लगाउने मोदीले भने माफी माग्नु पर्ने नेपाली नागरिकको माग छ । तर, नेपाली जनताको मन जित्न आउन लागेका भनिएका मोदीले किन माफी माग्दैन त ? किन की उनी नेपाली जनताको मन जित्न राजनीतिक दलका नेता र नेपाल सरकारलाई हतियार बनाउँदैछन् ।

भारतले नेपाललाई गरेको सहयोगको घोषणा कहिल्यै पूरा मात्रै होइन आधा पनि गरेको छैन । भूकम्पपछि काठमाडौंमा भएको दातासम्मलेनमा २६ अर्बको सहयोगको घोषणा गरेको भारतले हालसम्म दिएको छैन । यसर्थ वाकपटुताका माहिर मोदीले नेपाल भ्रमणका क्रममा चिल्ला भाषणा गरेर नेपाली जनताको मन जित्ने योजना छ । उनी जनकपुरबाट नेपाली जनताको नाडी छामेर राजधानी काठमाडौंको भ्रमणमा आउने छन् ।

भाषणमा होइन व्यवहारमा नेपाली नागरिकले विश्वास गर्नुपर्ने आम मानिसहरु सार्वजनिक स्थानमा भन्ने गरेका छन् । ‘कसरी नाकाबन्दी पीडा बिर्सन सकिन्छ ?’, उनीहरु भन्छन्, ‘पीडा दिने उनै मोदीलाई हामी कसरी स्वागत गरौँ ?’

नेपालमा नाकाबन्दी लगाउनु गलत थियो भन्नेसम्म नभनेका भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल सरकारले भ्रमण रहस्यमय छ । नाकाबन्दीताका मोदी र मोदी सरकारको ब्यापक विरोध गरेका केपी शर्मा ओली नेतृत्वको सरकारले यथास्थितिमा मोदीलाई नेपाल भ्रमण गराउने झनै रहस्यमय हो ।

दुई देशबीचको सम्बन्ध सुध्रन, नागरिकस्तरमा राम्रो हुनु पर्छ । नेपालमा नाकाबन्दी लगाउँदा भारतीय नागरिकले समेत मोदीको विरोध गरेका थिए । दुई देशको नागरिकस्तरमा राम्रो सम्बन्ध छ । तर, नेपाली नागरिक र मोदी सरकार तथा स्वयम् मोदीबीचको सम्बन्ध भने राम्रो छैन । नेपाली नागरिकले औषधिसमेत खान पाएनन् नाकाबन्दीका बेला ।

नाकाबन्दीको सबैभन्दा ठूलो मार काठमाडौँ उपत्यकामा रहेका मानिसहरुले पाए । यस कारण यसपटक मोदी काठमाडौं नआएर जनकपुरबाट नेपाल भ्रमण गर्दैछन् । जनकपुरमा नेपालीको मन जित्न उनले चिल्ला भाषण गर्नेछन् अनी काठमाडौं हुँदै मुक्तिनाथको भ्रमण गरेर स्वदेश फर्कनेछन् ।

उनको नेपाल भ्रमणले नेपाली जनता र मुलुकले के फाइदा पाउँछ त्यो भ्रमणपछि थाहा हुनेछ । तर, नेपाल भ्रमणले मोदीलाई भारतमा चुनाव लड्न सहज बनाउने छ । नेपालसँगको सम्बन्ध सुध्रिएको सन्देश दिन सहयोग गर्ने नेपालका नेताहरुलाई मोदीले केही फाइदा चखाउने छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top