नेतृत्व बिकास सम्बन्धी तालिम समापन

पोखरा, २३ बैशाख l ज्ञानकुञ्ज आमा समूहको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा संचालित ५ दिने क्षमता बिकास तथा उद्घोषण कला तालिम शुक्रबार सम्पन्न भएको छ । प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिका शहरी र गरिबी न्यूनिकरण सामाजिक शाखा अधिकृत सविता ढुंगानाले महिलाहरुको क्षमता अभिबृद्धि गरि समाज समृद्ध बनाउनका लागि यस्ता तालिमहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।


आमा समूह एवं कार्यक्रमका अध्यक्ष निर्मला घिमिरेले महिलाहरु शसक्त बन्नका लागि पहिले बोल्ने कला र नेतृत्व लिन सक्ने क्षमताको बृद्धि गर्नुपर्ने आवश्यकता रहेकोले यस कार्यक्रम निकै फलदायी भएको बताउनुभयो । तालिमका सहजकर्ता नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारीले हरेक क्षेत्रमा नेतृत्व लिनका लागि महिला नै पहिला दक्ष बन्नुपर्ने र यस्ता तालिमले आफ्नो हक अधिकार बारे सचेत समेत बनाउने भएकोले तालिम प्रभावकारी रुपमा सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरु सावित्री संग्रौला, मैया के.सी, आरती श्रेष्ठ, धनमाया गुरुङ्ग, रिता थापा, सिता थापा, सबिता गुरुङ्ग मन्जु शाही र शिव थापा लगायतले आफ्नो अनुभव साट्नुभएको थियो । २५ जना सहभागी रहेको सो कार्यक्रमको प्रशिक्षण बिमला भण्डारी र सविता ढुंगानाले गर्नुभएको हो । कार्यक्रमको संचालन समूहका सचिव ज्योति थापा क्षेत्रीले गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top