प्रदेश नं. ४ को बजेट कस्तो छ ? कुन कुन बिषय परे प्राथमिकतामा ?

समाचारपाटी, पोखरा, १९ बैशाख । प्रदेश नं. ४ को चालु आर्थिक वर्षको बाँकी अबधिको बजेट आज प्रदेशसभामा प्रस्तुत भएको छ । बजेटमा चालुतर्फ ४८ करोड ३ लाख ७५ हजार र पुँजीतर्फ ५४ करोड १ लाख २५ हजार गरि १ अर्व २ करोड ५ लाख छुट्याइएको छ ।

आर्थिक मामीला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटमा प्रादेशिक संरचनाको प्रबन्ध मिलाउने, प्रदेशमा लगानीमैत्री वातावरण सृजना गर्ने, रोजगारी तथा स्वरोजगारका अवसर सृजना गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, गरिवी न्यूनिकरण गर्दै पूर्णरुपमा गरिवी निवारण गर्ने, भौगोलिक तथा सामाजिक सन्तुलन सहित प्रदेशको विकास गर्ने सहितका ५ वटा उद्देश्यले बजेट तयार पारिएको छ ।

मन्त्री गुरुङले कानुन तर्जुमा र कार्यान्वयन, प्रदेश गौरवका आयोजनाको पहिचान, आयोजना बैंकको तयारी, भौतिक पूर्वाधार निर्माणका सबै चुनौतीपूर्ण कार्यालाई प्रदेश निर्माणको अवसरको रुपमा लिएको बताउनुभयो ।

बजेटका प्राथमिकतामा क्रममा पर्यटन, उर्जा, कृषि उध्योग र भौतिक पुर्वाधारलाई राखिएको छ ।

पर्यटन प्रवद्र्धन गर्न सन् २०१९ लाई आन्तरीक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देश पर्यटन वर्ष र सन् २०२२ लाई अन्तराष्ट्रिय स्तरको पोखरा भ्रमण वर्षका रुपमा मनाउन बजेटको व्यवस्था मिलाईएको आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले बताउनुभयो ।

काठ्माण्डौ पोखरा लुम्बिनीलाई बुद्ध स्वर्णीम त्रिकोणका रुपमा बिकास गरि पर्यटकलाई आकर्षण गर्न छिमेकी प्रदेशसँग समन्वय र सहकार्य गरिने जनाइएको छ ।

पर्यटकीय गन्तव्य विस्तार गर्न प्रदेशको राजधानी र जिल्ला संगको हवाई सम्पर्कलाई पुनः स्थापना एवं विस्तार गर्न प्रदेश भित्रका पालुङटार–गोरखा, हुम्डे–मनाङ र ढोरपाटन–बागलुङ विमानस्थल पुनः संचालनमा ल्याउन पहल गरिनेछ ।

खेल पर्यटनको विकास र विस्तार गर्न सरकारले अल्ट्रालाईट, प्याराग्लाईडिङ, बञ्जि जम्प, क्यानोनिङ, रक क्लबईम्बिङ, कायाकिङ, स्काइ डाइभिङ, हिँउ स्केटिङ र स्की जस्ता खेलपर्यटनको प्रवद्र्धनका लागि अध्ययन गर्ने भएको छ ।

सरकारले नयाँ आकर्षक पर्यटकीय गन्तव्य विकास गर्नका लागि संघ, प्रदेश, स्थानिय तह र निजीक्षेत्रसंगको साझेदारीमा आयोजना निर्माण तथा सञ्चालनको उपयुक्त मोडालिटी विकास गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार प्रदेश नं. ४ को प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा निजि क्षेत्रसंग सहकार्य गरि ग्रामीण पर्यटन प्रवर्टनका लागि प्रदेशका ११ स्थानमा केबलकार सञ्चालनको पूर्वसम्भाव्यता अध्ययन गर्न १५ लाख बजेट छुट्याइएको छ ।

स्थानिय तह र निजी क्षेत्रसँगको सहकार्यमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेका फेवाताल–बेगनासताल–रुपाताल कनेक्टिभिटीका लागि मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्न २० लाख रुपैया विनियोजन गरिएको छ ।

अन्नपुर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र तथा विभिन्न प्राकृतिक, ऐतिहासिक धार्मिक, सांस्कृतिक क्षेत्रलाई संरक्षण र विकास गर्दै ग्रामीण पर्यटन केन्द्र, होमस्टे, पदयात्रा मार्गलाई प्रवद्र्धन गर्न तीनसय गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने कार्यक्रम सञ्चालनका लागि कार्यविधि तयारीको व्यवस्था मिलाईएको अर्थमन्त्री गुरुङले बताउनुभयो ।

पर्यटकलाई आकर्षित गर्न र बसाई लम्ब्याउन अतिथि देवो भवः अभियान संचालन गरिने प्रस्तुत बजेटमा उल्लेख छ ।

संघ र स्थानिय तहसँगको सहकार्यमा पहिलो चरणमा प्रदेशका एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्रामको स्थापना गर्न १ करोड छुट्याइएको छ ।

यस्तै कालीगण्डकी र मस्र्याङ्दी करिडोरमा नेपाल सरकारसँगको समन्वयमा आर्थिक करिडोर र विशेष औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन गर्न २० लाख छुट्याइएको छ ।

उज्यालो प्रदेश अभियानलाई सार्थक बनाउन स्थानिय तह, नेपाल विद्युत प्राधिकरण र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय गरी २ वर्षभित्र विजुली बत्ती नपुगेको क्षेत्रमा विद्युतीकरण गर्न १ करोड छुट्याइएको छ ।

उच्च हिमाली क्षेत्रमा प्राकृतिक शीतभण्डार निर्माणका लागि सम्भाव्यता अध्ययन गरि प्रत्येक स्थानिय तहमा एक शितभण्डार स्थापनाका लागि कार्यविधि तर्जुमा गर्न बजेट विनियोजन गरिएको छ ।

कृषि एवं विकासको मोडल फार्म सञ्चालनका लागि कार्यविधि तर्जुमा एवं सम्भाव्यता अध्ययनको व्यवस्था मिलाईएको छ ।

कृषिउपजको प्रमाणीकरण तथा खाद्यवस्तुको गुणस्तर परिक्षण गर्ने आधुनिक प्रयोगशाला निर्माण गर्न अध्ययन गर्ने व्यवस्था गरिएको छ ।
दुग्ध विकासका लागि प्रदेश दुग्ध विका बोर्डको स्थापना गरिनेछ ।

प्रदेशमा लगानी बढाउन लगानी सम्मेलन २०७५ आयोजना गरिनेछ । एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्रामको स्थापना गर्न १ करोड छुट्याइएको छ ।

आन्तरीक मामिला तथा योजनामन्त्री किरण गुरुङले पेश गरेको बजेटको पुर्ण पाठ हेर्नुहोस
 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top