सवारी दुर्घटना न्युनिकरणका लागि पोखरामा ट्राफिक सप्ताहा

बैशाख १७ गते देखि २३ गतेसम्म विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना
समाचारपाटी, पोखरा, १४ बैशाख । कास्कीमा बैशाख १७ गते देखि २३ गतेसम्म ट्राफिक सप्ताहा हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, माछापुच्छ्रे बैंक र रेडक्रस सोसाइटी कास्कीको संयुक्त आयोजनामा ट्राफिक सप्ताहा गर्न लागेको पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।

सवारी दुर्घटना न्युनीकरणका लागि एक हप्ता विभिन्न सचेतनाका कार्यक्रम गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी निरिक्षक ऐन बहादुर मल्लले जानकारी दिनुभयो ।

सप्ताहा अन्तरगत १७ गते प्रभातफेरी, पर्चापम्लेट वितरण, चालक परामर्श, बैशाख १८ गते जेब्राक्रस स्वयमसेवक परिचालन, र अमरसिंह उच्चमावी र महेन्द्र उच्चमावीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सचेतना कक्षा, रेडियो सम्बाद, बैशाख १९ गते ड्राइभिङ्ग इन्ष्टीच्युट समितिका प्रतिनिधीहरुलाई सचेतना, बैशाख २० गते प्याराग्लाइडिङ्ग चालकहरुलाई ट्राफिक सचेतना र प्यारामाउण्ड बोडिङ स्कुलमा सचेतना कक्षा, चालक परामर्श, बैशाख २१ गते आमा समुहहरुलाई सचेतना कक्षा, चालक परामर्श, बैशाख २२ गते चालकका लागि ट्राफिक कक्षा, बाराहि उच्च मावीमा सचेतना कक्षा र बैशाख २३ गते फिल्म हलहरुमा अडियो क्लिप शो, र समापन गरिने प्रहरी निरिक्षक मल्लले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरिक्षक अशोक सिंहले ट्राफिक व्यवस्थापनको लागि जनस्तरबाट सहयोग हुन जरुरी रहेको बताउनुभयो । सडकमा सवारी चलाउने चालक मात्र नभएर बाटो काट्ने र पैदल यात्रा गर्नेहरुको कारण पनि दुर्घटना हुने गरेको भन्दै उहाँले सबैले आफ्नो ठाउँबाट सचेतना अपनाउनुपर्नेमा जोड दिनुभयो ।

ट्राफिक सप्ताहालाई सफल बनाउन आम नागरीकलाई सहयोग गर्न सिंहले अपिल समेत गर्नुभएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top