प्रदेश ४ को नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदै

काठमाडौं, ३ वैशाख । प्रदेश ४ को सरकारले सोमबार नीति तथा कार्यक्रम ल्याउँदै छ । प्रदेश सरकार गठन भएको २ महिनापछि असारसम्मका लागि नीति तथा कार्यक्रम संसदमा पेश हुन लागेको हो ।

प्रदेश प्रमुख बाबुराम कुँवरले दिउँसो २ बजे बस्ने संसदमा सय बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रदेशको विकास र समृद्धिका लागि मुख्य पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई आधार मानेर नीति तथा कार्यक्रम ल्याउन लागिएको आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

मुख्य ४ प्राथमिकतामा राखेर प्रदेशले अन्य कुरालाई पनि कसरी समेट्छ भन्ने सन्देश नीति तथा कार्यक्रमको सय वटा बुँदाले समेट्ने छन् । निर्धारण गरिएको प्राथमिकता र त्यसका लागि आवश्यक पूर्वाधारमा जोड कार्यक्रमले दिने कानुनमन्त्री चुमानले बताए ।

मन्त्रीपरिषदको बैठक बसेर आइतबार नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको छ । प्रदेशले अंगाल्ने भावी नीति र विकास कार्यक्रममाथि छलफल भएको कानुनमन्त्री चुमानले जानकारी दिए ।

प्राथमिकताका चार आधारसँगै खनिज, लोकसंस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयलाई नीति तथा कार्यक्रममार्फत जोड दिइएको छ ।

अहिले प्रदेश सरकारसँग त्यस्तो ठूलो बजेट नभएकाले असार आउने नीति तथा कार्यक्रम र बजेटलाई बल पुग्ने गरी अहिलेको नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । ‘अहिले सकारात्मक सन्देश दिनका लागि मात्रै नीति तथा कार्यक्रम आउने हो,’ कानुनमन्त्री चुमानले भने, ‘अहिले प्रदेशसँग ठूलो बजेट छैन । खर्च भएको बजेट र अब खर्च गर्ने बजेटलाई नै नीति तथा कार्यक्रममा समावेश हुने छ ।’

केन्द्रले छुट्याएको १ अर्ब २ करोड रुपैयाँको बजेटमाथि नै अहिलेको नीति तथा कार्यक्रम आउने छ । प्रदेशको भावी नीति के हुन्छ भन्ने सन्देश दिने खालको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुनेछ ।
Source : amrit subedi, Onlinekhabar

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top