बाल्याकालमा मनमा परेको चोटले यसरी निम्त्याउँछ डिप्रेशन

शंखरापुर निवासी २३ वर्षीया एकता खनाल (नाम परिवर्तन) गम्भीर डिप्रेशनको शिकार मात्र भइनन् । चारपटक त उनले आत्महत्याकै  प्रयास गरिन् । कारण थियो, बाल्यावस्थामा परेको गहिरो मानसिक चोट अर्थात् चाइल्डहुड ट्रमा ।

आफ्नै बाबुले गरेको पटक पटकको यौन हिंसा तथा दुष्कर्मका कारण उनी यति धेरै विक्षिप्त अवस्थामा पुगिन् कि ठूलै भइसक्दा पनि उनको मनबाट उक्त डर र त्रास हट्न सकेन । उनको मनमा पुरुषप्रति यति धेरै वितृष्णा थियो कि पुरुष भन्ने शब्दसितै घृणा गर्थिन् । परिणामस्वरूप बाल्यावस्थामा मनमा परेको गहिरो चोटका कारण उनको वैवाहिक जीवनमा मात्र असर परेन, उनले पटक पटक आत्महत्या गर्नेसम्मको असफल प्रयास गरिन् ।

 

 

यो त केवल उदाहरण मात्र हो ।

समय समयमा बेहोस हुनु, आत्महत्याको प्रयास गर्नु, श्रीमानसँग राम्रो सम्बन्ध नहुनु, यौनसम्बन्धप्रति वितृष्णा जाग्नु चाइल्डहुड ट्रमाका लक्षण हुन् ।

चाइल्डहुड ट्रमाले पुर्‍याउन सक्ने असर बारे समयमै कुराकानी गरेर यसले भविष्यमा निम्त्याउन सक्ने समस्याबाट जोगिन सकिन्छ ।

मानसिक स्वास्थ्य तथा मानसिक समस्याको भिन्नताबारे जानकारी हासिल गरेर तथा यसले पार्ने प्रभावको बारेमा जनचेतना जगाएर समेत यसको दुष्प्रभाव कम गर्न सकिन्छ ।

चाइल्डहुड ट्रमा र यसको चुनौती 

नेपालमा चाइल्डहुड ट्रमाका धेरै घटना छ ।तर यसबारे जानकारी नहुँदा बिरामीहरू टाउको दुख्ने, जीउ दुख्नेजस्ता शारीरिक समस्या लिएर चिकित्सककहाँ जाने गर्छन् ।

म दुःखी भएँ, मलाई आत्महत्या गर्न मन लाग्यो वा डिप्रेसनमा गएँ भनेर विरलै मानिस चिकित्सककहाँ पुग्ने गर्छन् ।

त्यसरी शारीरीक समस्या नै लिएर आए पनि बिरामीहरू सीधै मनोचिकित्सककहाँ पुग्दैनन् । यसका कारण बिरामीले दुःख त पाइरहेका छन् नै । सही उपचार अभावमा बिरामीको खर्च समेत बढ्ने गरेको छ ।

त्यति मात्र हैन, कतिपय बिरामी गम्भीर भएपछि मात्र चिकित्सककहाँ पुग्ने गरेका छन् भने यसकै कारण आत्महत्याको घटना समेत बढ्दै गएको छ ।

यसबारे सर्वसाधारण त जानकारी हुनु पर्‍यो नै,  चिकित्सक, फिजिसियन, सर्जन लगायतका अन्य फ्याकल्टीका चिकित्सकहरू समेत सजग हुनु जरुरी छ । बिरामीलाई मनोचिकित्सक वा मनोपरामर्शदाताकहाँ रिफर गर्नु जरुरी छ । त्यस्तै, ८ /९ कक्षाबाटै यस सम्बन्धी जानकारी दिएर पनि

चाइल्डहुड ट्रमा हुनबाट जोगाउन सकिन्छ ।

सामान्यतया चाइल्डहुड ट्रमा मानिसको मन तथा भावनासित जोडिएको हुन्छ । मन तथा भावनामा पुगेको गहिरो आघात तथा चोट पछिसम्म रहिरहन सक्छ । जुन पछि गएर एडल्टहुड ट्रमाका रूपमा विकास हुने गर्छ । समयमै रोकथाम नगरेको खण्डमा यसले एन्जाइटी, डिप्रेसन मात्र नभई ज्यानै जानेसम्मको खतरा हुने गर्दछ ।

चाइल्ड हुड ट्रमाका लक्षण

डर

चिन्ता

तनाव

अनिद्रा

एन्जाइटी

डिप्रेसन

सास फेर्न गार्‍हो हुने

धूमपान, मदिरापानजस्ता नशालु पदार्थको सेवन गर्ने इत्यादि

बच्ने उपाय

जनचेतना, पर्याप्त शिक्षा तथा यसबारे पर्याप्त मात्रामा जानकारी प्रदान गरेर पनि चाइल्ड हुड ट्रमा हुनबाट जोगाउन सकिन्छ ।

यस्तो समस्या देखिए बिरामीले ध्यान दिनुपर्ने कुरा

-सर्वप्रथम बिरामीले यो मनोवैज्ञानिक समस्या हो भनेर बुझ्नु जरुरी छ । त्यसैले म पागल हो भन्नुभन्दा पनि मलाई के समस्या छ भनेर बुझ्नु हो । तुरुन्तै परामर्शदाता वा मनोचिकित्सककहाँ जानु पर्छ ।

-मनोवैज्ञानिक समस्याहरूमा औषधी लिनैपर्छ भन्ने जरुरी छैन । कतिलाई परामर्शले मात्र पनि औषधीको काम गर्नसक्छ । औषधीले मात्र नहुने बिरामीलाई भने औषधीका साथमा काउन्सिलिङ्गको पनि आवश्यकता पर्छ तर त्यस्तो काउन्सिल तालिमप्राप्त स्वास्थ्यकर्मीबाटै लिनु पर्छ  ।

-समाजमा मानसिक रोगको औषधीलाई लिएर गलत धारणा व्याप्त छ । जब कि यस्ता औषधि निश्चित समय खाएकै भरमा विरामीलाई निको पार्न सकिन्छ । औषधि नियमित रूपमा सेवन गर्न भने जरुरी छ  । औषधीको सेवनले व्यक्तिको कार्यसम्पादन राम्रो हुने गर्छ । बरु औषधी नखाएको खण्डमा व्यक्ति गम्भीर समस्याबाट ग्रस्त हुने तथा गम्भीर रोगको सिकार हुने गर्छ । यस अर्थमा आफ्ना भावनालाई नियन्त्रणमा राखेर पनि यस किसिमको ट्रमाबाट बाहिर निस्कन सकिन्छ भने परामर्शदाताको उचित परामर्शको आधारमा पनि यो रोग निको पार्न सकिन्छ ।

(यो लेख मनतोचिकित्सक डा. सञ्जिव चन्द्र गौतमसितको कुराकानीमा आधारित छ । उनी हाल जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् ।)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित