विप्लव समूहका कार्यकर्ताले सवारी साधनमा बम प्रहार गरि क्षतिग्रस्त

सिन्धुली, २० चैत । कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ । धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पुरयाइएको छ ।

आज बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी क्याम्पमा रोकिराखिएका सवारीमा क्षति परयाएका हुन् । लुअम ७२९६ अस्थायी नम्बरको डबलक्याप बोलेरोमा बम प्रहार गरी पूर्णरुपमा क्षति पुर्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै, ना१क ५६९८, ना१क ४३३८, ना१क ७२४४, ना१क ४३३२ नंका टिपरमा पनि क्षति पुगेको छ । रोड लोडर र रोलरमा पनि आंशिक क्षति पुगेको छ ।

विप्लवका कार्यकर्ताले प्रहार गरेको बमका छर्रा लागेर रत्ननगर–१५ चितवनका २५ वर्षीय विक्रम गुरुङ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको बताइएको छ । विप्लवका कार्यकर्ताले बम र अागजनी गरेर फरार रहेको र प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।

विप्लवले चन्दा मागेको र दबाब दिएको बारेमा कालिका कन्स्ट्रक्सनले अनभिज्ञता प्रकट गरेको उनको भनाइ छ । यता, आयोजना प्रमुख ठाकुर ढकालले विप्लवका कार्यकर्ताले बिना जानकारी क्याम्पमा आगजनी र बम प्रहार गरेको बताए । उक्त घटनाका कारण क्याम्प क्षतिग्रस्त बनेको र काम गर्ने वातावरण हटेको बताए ।

उनले स्थानीय प्रशासनसँग काम गर्ने उपयुक्त वातावरण सिर्जना गरिदिन माग गर्नुभएको छ । उनका अनुसार घटनाको बारेमा सडक विभाग तथा कन्स्ट्रक्सनलाई जानकारी गराइएको छ र तत्काल काम गर्न सक्ने अवस्था छैन । बम र आगजनीपछि स्थानीयवासी र कामदारको सक्रियतामा आगो नियन्त्रणमा लिइएकाले थप सवारी तथा मानवीय क्षति हुन नपाएको उनको भनाइ छ ।

यता विप्लवका कार्यकर्ताले मकवानपुरको बकैया गाउँपालिकामा पनि दुई स्काभेटर र एक क्रेनमा क्षति पुर्याएको आयोजना प्रमुख ढकालले बताए । सिन्धुलीको धुराबजारदेखि मकवानपुरको हेटौँडासम्मको सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले सिन्धुलीको कमलामाई नगरपालिका–४ को कुडुलेदेखि हेटौँडासम्मको ट्र्याक खोल्ने र निर्माण गर्ने कार्य अघि बढाइरहेको छ । यी घटनाको बारेमा अझैसम्म विप्लव नेतृत्वको माओवादीले कुनै प्रतिक्रिया दिएको छैन ।

source:onlinekhabar

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top