क्रिकेट, युट्युब र सिनेमाका ३ सुपरस्टार

मयले हरेकलाई ‘हिरो’ हुने मौका दिन्छ । र, त्यो मौका उनीहरूकै भागमा पर्छ, जो श्रम, लगाव एवं मिहिनेतको धरातलमा उभिन्छन् ।यी तिनै तन्नेरी ‘स्टार’ को कथा हो, जसले सही समयमा सही ढंगले सही कर्म गरे । नाम होः सन्दीप लामिछाने, अनमोल केसी, स्वप्न सुमन ।

अनमोलको क्रेज त्यसबेला देखिन्छ, जब कलकलाउँदो वयका उनी हात हल्लाउँदै मन्द मुस्कानसाथ कुनै सिनेमा हलको प्राङ्गणमा पदार्पण गर्छन् । सन्दीपको क्रेज त्यसबेला देखिन्छ, जब एक छरितो र जोशिलो युवा ब्याट समातेर क्रिकेट पिचमा उभिन्छन् ।

स्वप्न सुमनको क्रेज त्यसबेला देखिन्छ, जब वैंशालु ठिटो भावुक मुहारमा गीतार च्यापेर स्टेजमा उक्लिन्छन् ।

क्रिकेट पिचमा अग्लिएको एउटा ठिटो

५ फिट ८ इन्च अग्ला सन्दीपको सफलताको ग्राफ यति अग्लिएको छ, किशोरवयमा त्यो विन्दुसम्म पुग्नु आफैंमा लोभलाग्दो उपलब्धि हो ।

जतिबेला मिडियाको शीर्षमा ‘नेपाली क्रिकेटर सन्दीपले आइपिएल खेल्ने’ समाचार छापिए, सारा नेपालीको छाती गर्वले चौडा भयो । त्यसपछि उनी कहिले विश्वकै उत्कृष्ट क्रिकेटरको सूचीमा परेको त कहिले क्यारेबियन प्रिमियर लिगमा आबद्ध भएको सुखद-खबर तरंगित भयो ।

स्याङ्जा, आरुचौरका सन्दीपको चिनारी मेची र महाकालीको भू-रेखा नाघेर टाढा-टाढा सम्म फैलिएको छ । त्यसो नहुँदो हो त, अन्तर्राष्ट्रिय मिडियाले उनलाई ‘नेपाली शेन वार्न’को उपमा दिने थिएनन् । विश्वकै सर्वाधिक महंगो क्रिकेट लिग आइपिएलमा खेल्ने मौका जुर्दैनथ्यो । हिजोसम्म चितवनको क्रिकेट मैदानमा बल र ब्याट खेलाइरहेका उनी आज दिल्ली डेयर डेभिल्सबाट इन्डियन पि्रमियर लिगको पिचमा उत्रँदै छन् ।

मंगलबार इन्डियन पि्रमियर लिग (आइपिएल) खेल्नका लागि दिल्ली जाँदा-जाँदै सन्दीपले भनेका थिए, ‘त्यहाँबाट धेरै कुरा सिकेर नेपाली क्रिकेटमा लागू गर्न चाहन्छु ।’

आज यी १७ वर्षे किशोर क्रिकेट पिचबाट विश्व समुदायमा आफ्नो चिनारी बनाउँदै छन् । जब कि दुई वर्ष अघिसम्म सन्दीप लामिछानेलाई नेपाली क्रिकेटले चिनेकै थिएन ।

चितवनमा एक दिवसीय क्रिकेट प्रशिक्षणमा पुबुदु दासानायकेले पहिलो पटक सन्दीपलाई बलिङ गरिरहेको अवस्थामा देखेका थिए । सन्दीपको बलिङबाट प्रभावित उनले कत्ति पनि ढिला नगरी सन्दीपलाई राष्ट्रिय टिममा सामेल गराए ।

दासनायकेसँगको त्यही भेट नै सन्दीपको जीवनको टर्निङ प्वाइन्ट बन्यो ।

त्यसपछि उनले यू-१९ विश्वकप खेले । त्यसपछि हङकङको टी-२० ब्लीट्ज । त्यसपछि माइकल क्लार्कसँगको भेट । त्यसपछि क्लार्कबाट प्रशिक्षणका लागि अष्ट्रेलियामा निम्तो पाए । यसरी १७ वर्षको उमेरमै सन्दीपले छलाङ मारे ।

सन्दीप क्रिकेटसँग जोडिनु पनि एउटा सुखद संयोग थियो । त्यो संयोग भारतमा बुबासँग बस्ने क्रममा जुरेको थियो । बुबा चन्द्रनारायण भारतीय रेलवे सेवामा कार्यरत भएका नाताले ।

पछि सन्दीपले चितनव, नारायणगढाको क्याम्पसचौरमा ब्याट र बलमा आफूलाई थप अभ्यस्त बनाए । त्यहाँ उनलाई पूर्व राष्ट्रिय क्रिकेटर राजु खड्काले प्रशिक्षण दिएका थिए ।

उच्च ब्रान्ड भ्यालुका तन्नेरी

१९ वर्षको कलकाउँदो उमेरमा ‘हिरो’ भएर सिनेमाको पर्दा कब्जा गर्न पुगे अनमोल । भलै उनी सुपरस्टार पिता भुवनका छोरा हुन् । यद्यपि आज उनले जुन उचाइ तय गरेका छन्, त्यसमा बुबाको ‘योगदान’ले मात्र काम गरेको छैन ।

उनी भाग्यमानी हुन्, भुवन केसीको छोरो भएर जन्मिए । उनी अभागी हुन्, बाल्यकालमै आमाबुबाको खटपट झेले । उनी कर्मयोगी हुन्, जसले भाग्य र नियतिको जोडघटाउबीच आफूलाई अलग स्थानमा उभ्याए ।

आजको चमकदमकपूर्ण दुनियाँमा अनमोलको खास मोल छ । आफ्ना उमेरका अझ भनौं, किशोर पुस्तालाई नेपाली सिनेमामा अभ्यस्त गराउन अनमोलको उपस्थिति अनिवार्य रह्यो । जसै उनी हिरो बनेर उदाए, किशोरवयका दर्शकले हल भरिभराउ भयो । उनको क्रेज अचम्मलाग्दो ढंगले बढ्यो । तर, उनी हौसिएनन् । संयम गुमाएनन् । अहंकार र दम्भले उनलाई थिचेन । यही गुणले अनमोलको मोल बढाइदियो ।

आज निर्देशकहरू भन्छन्, ‘अनमोलका लागि ५०, ६० लाख रुपैयाँ पारिश्रमिक दिन निर्माताहरू दुई पटक सोच्दैनन् ।’

फर्मुला फिल्म बनाउने ऋषि लामिछानेले अनलाइनखबरसँग भनेका थिए, ‘अहिले अनमोलका लागि पचास लाख खर्च गर्न निर्माताहरूको ताँती लाग्छ । तर, अनमोललाई राजी गराउन मुस्किल छ ।’

हो, अनमोललाई राजी गराउन मुस्किल छ । किनभने अनमोलले त्यो संयम गुमाएका छैनन्, जो आफ्नो जमानामा राजेश हमालले गुमाए । आज दयाहाङ राईले गुमाउँदै छन् ।

अनमोलको मोल यसकारण पनि बढेको छ कि, उनी आफ्नो ब्रान्डलाई क्यास गर्ने हतारमा छैनन् । अनमोल भनेपछि हुरुक्कै हुनेको जमात सानो छैन । अनमोलको नामले नै हलसम्म तान्ने सामथ्र्य राख्छ । अहिले नेपाली सिनेमामा अनमोलको खास स्टारडम छ ।  तर, आफ्नो यो क्रेजलाई उनी पैसामा रूपान्तरण गर्ने लोभमा छैनन् । धैर्यपूर्वक फिल्म छनौट गर्छन् र त्यसैका लागि वर्षभर मरिमेट्छन् ।

अनमोलले अनलाइनखबरसँगको साक्षात्कारमा भनेका थिए, ‘सकेसम्म स्त्रिmप्ट अध्ययन गरेर मात्र फिल्ममा साइन गर्छु । जथाभावी फिल्म खेल्दा क्वालिटी मेन्टेन गर्न सकिँदैन ।’ अनमोल निकै परिपक्व छन् । उनका सोंच र व्यवहार साधारण छ । स्त्रिmनबाहिर उनी हिरोइज्म देखाउन चाहँदैनन् ।

अनमोलले आफ्नो स्टारडमलाई जतनसाथ कायम राख्न सक्नु आफंैमा चुनौती हो । उनीसँग अहिले यस्तो ताकत छ, जसले नेपाली फिल्मलाई सही ट्र्याकमा डोहोर्‍याउन सक्छन् । आफ्नो दुनो सोझ्याउने वा ‘दुर्लभ’ हुने मनोकांक्षा त्यागेर कसरी उनले समग्र फिल्मका लागि खास मिहेनत गर्छन् ? त्यसैले उनको असली चिनारी बनाउनेछ ।

जसले युट्युबवाट जीवनको धुन खोजे

आज उनको खास चर्चा छ । जसै उनी स्टेजमा निम्त्याइन्छन्, युवा दर्शक भावविह्वल हुन्छन् । रुन्छन् । चिच्याउँछन् । र, हुटिङ गर्छन्, स्वप्न…स्वप्न ।

स्वप्न सुमन । हिस्सी परेका, भावुक यी युवा गीतार च्यापेर स्टेजमा उक्लेपछि युवा दर्शक लयमा लय मिलाउँछन् । युवा दर्शक मात्र होइन, नेपाली अर्बपति विनोद चौधरी पुत्र अरुण चौधरीसमेत स्वप्नका फ्यान हुन् । आज स्वप्नको जुन क्रेज छ, त्यो निकै इष्र्यालाग्दो छ ।

सुमन थापा कसरी स्वप्न सुमन भए ?

अचम्म लाग्नसक्छ, केही समयअघिसम्म उनी चिनिएकै थिएनन् । चल्तापूर्जा गायक/गायिकाले कब्जा जमाइरहेको सांगीतिक वृत्तमा उनको उपस्थिति थिएन । तर, अचानक उनी नायक भए । कहाँबाट, कसरी उनी उदाए ?

खासमा उनी युट्युबको आलोकमा टेकेर युवाको ढुकढुकी बनेका हुन् । सन् २०१२ मा उनी युट्युबमा झुल्किए, स्वप्न सुमन बनेर । चलेका नेपाली गीतहरूको कभर सङ गरे । क्रमशः उनको गीतमा युवा दर्शक लट्ठ पर्दै गए ।

उनको आफ्नै गीत थिएन । स्कुले जीवनमा भजन गाएका थिए । त्यसैले उनको स्वर माझियो । पछि उनले अघिल्तिर क्यामेरा राखेर गीतार बजाए, गीत गुनगुनाए । युट्युबमा अपलोड गरे । गरिरहे ।

पछि उनले कर्मा रेकर्डसँग सहकार्य गरेर कभर गीतको भिडियो युट्युबमा राखे । ‘उकाली चढौँला,’ ‘सुन, भन न’ ‘छिटको गुन्यु’, ‘मोहनी लाग्ला है’ जस्ता पुराना गीतलाई आफ्नो आवाजमा गुनगुनाए । त्यही भिडियोले उनलाई रातारात स्टार बनाइदियो । अचम्म त के भने, उनले गाएको गीत युट्युबमा एक करोड ३५ लाखभन्दा बढी पटक सुनिएको छ । जब कि ‘कसरी भनौं’ बोलको यो गीतको भिडियो छैन ।

कभर सङ गरिरहेका सुमनले २०१४ मा अफिसियल गीत ‘के साह्रो राम्री भाको’ अपलोड गरे । त्यसको दुई वर्षपछि फेरि सोही गीत अपलोड गरे । त्यसले उनको लोकपि्रयता एकाएक उकासिदियो । आज स्वप्न सुमन धेरैको सपना भएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top