जगमा भ्वाङ भेटिएपछि गोरखा दरबारको पुनर्निर्माण अन्योलमा प्राविधिक टोलीले नापजाँच गरेपछि मात्रै काम थालिने

गोरखा, १० फागुन  । जगमा भ्वाङ भेटिएपछि ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माण अन्योलमा परेको छ । पुनर्निर्माणको क्रममा दरबार भत्काउँदा पूर्वि भागको जगमा भ्वाङ भेटिएको हो । भ्वाङ भेटिएको ठाउँमा जमिनको सतह कमजोर हुने भन्दै पुनर्निर्माणको काम रोकिएको छ ।

प्राविधिकको टोलीले नापजाँच गरेपछि मात्रै पुनर्निर्माणको काम थालिने गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताएका थिए । अध्ययन गर्नका लागि पुरातत्व बिभागका सीडीई इन्जिनियर सम्पत घिमिरेको संयोजकत्वमा चार सदस्यीय कमिटी गठन गरिएको उनले बताए । ‘फागुन ४ गते कमिटी गठन भएको हो, मन्त्रालयले सात दिन भित्र प्रतिवेदन बुझाउनु भनेको छ,’ भुसालले भने, ‘सोही प्रतिवेदन अनुसार काम अगाडि बढ्ने छ ।’

कमिटीले अहिले अध्ययन गरिरहेको छ । भूकम्पले क्षति पुगेसँगै पुनर्निर्माणका लागि दरबार भत्काइएको हो । चार करोड ३७ लाख लागतमा दरबारको पुनर्निर्माणका लागि पचलीशिभाको जेभीसँग पुरातत्व विभागले ठेक्का सम्झौता गरेको छ । करिब दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य लिइएको छ । मूल दरबारको पुनर्निर्माण सकेर कालिका मन्दिरको मर्मत सम्भार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ । दरबार भत्काए पनि मन्दिरको नियमित पूजा भने नरोकिएको दरबार हेरचाह अड्डा प्रमुख भुसालले बताएका छन् ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top