नेपालमा जलाउने (एसिड) छर्केने जस्ता घट्ना बढ्दै गएकामा चिन्ता

ललितपुर, २९ माघ । नेपालमा प्रत्येक वर्ष ठूलो संख्यामा मानिस आगलागी वा अन्य रसायनको ज्वलनमा परी अकालमै निधन वा घाइते हुने गर्छन् । तीमध्ये अधिकांश भवितव्यबाट नभई सुनियोजित रुपमा भएका घटनाबाट पीडित भए पनि उनीहरुले समयमै न्याय पाउन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

बिभिएस नेपाल नामक संस्थाद्वारा सञ्चारकर्मीका लागि आयोजित अग्नि हिंसाजस्ता लैंगिक हिंसा विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी वक्ताले महिला र युवतीविरुद्ध हुने हिंसामध्ये जलाएर र रसायन (एसिड) छर्केर गरिने हिंसाका बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।

यस्ता घटना अत्यन्त क्रुर र पीडादायी हुने तथा समयमै उपचार र न्याय नपाउने गरेकाले पीडितहरुको पक्षमा सहयोग र पैरवी गरिनुपर्ने उनीहरुको भनाइ छ । जलनका घटना पीडितमा शारीरिक असक्षमता, कुरुपता, दीर्घकालीन स्वास्थ्य जटिलता, मानसिक आघात हुने र सामाजिक अपहेलना व्यहोर्नु पर्ने हुँदा कतिपयले आत्महत्या समेत गर्नु परेको भन्दै यस्ता विषयमा सञ्चार माध्यमले संवेदनशीलता देखाउँदै समाचारमा प्राथमिकता दिनुपर्ने धारणा वक्ताहरुको थियो ।

बिभिएस नेपालका अनुसार नेपालमा वर्षमा करिब ५६ हजार व्यक्ति अर्थात् प्रत्येक दिन १५३ जना, प्रतिघण्टा छ जना र प्रत्येक १० मिनेटमा एकजना आगलागीमा परी घाइते हुने गर्छन् । नेपालको ग्रामीण क्षेत्रमा हुने दुर्घटनाका घाइतेमध्ये जलनको घाइते दोस्रो नम्बरमा पर्छन् । जसबाट अंगभंग भएकामध्ये पाँच प्रतिशत घाइते जलनका कारणले भएको पाइन्छ ।

जनवरी २०१० देखि हालसम्म २४९ भन्दा बढी ९१७९ जना महिला र बालबालिका० पीडित भएको तथ्यांक छ । तीमध्ये करिब ५५ प्रतिशतले गहिरो घाउका कारण ज्यान गुमाइसकेको सो संस्थाले जानकारी दिएको छ । कार्यक्रममा युनिसेफ नेपालका दीपक श्रेष्ठले जलनबाट पीडितलाई कानूनी र मनोवैज्ञानिक उपचारको खाँचो रहेको बताउँदै मिडियाले घटनाको एकपटक समाचार दिएर नपुग्ने, त्यसको ‘फलो–अप’ गरिरहनुपर्नेमा जोड दिए ।

बिभिएस नेपालका अध्यक्ष सुलक्षण रानाले जनवरी २०१४ देखि हालसम्म ४० जना महिला तथा बालबालिका जलनसम्बन्धी हिंसाको शिकार भएकामा एकाध घटनामात्रै सञ्चार माध्यममार्फत सार्वजनिक भएको बताए । त्रिवि शिक्षण अस्पतालका डा ईश्वर लोहनीले समाजमा घरेलु हिंसाजन्य जलनका घटना बढ्दै गए पनि घटना लुकाउने वा अन्य कारणबाट भएको भन्ने गरेकाले पनि समयमै कानूनी उपचार पाउन कठिन भएको उल्लेख गरे ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top