गोली लागेर घाइते भएकी महिलाले घाइते अवस्थामै जन्माइन बच्चा

नयाँदिल्ली,२८ माघ  । भारत स्वसाशित क्षेत्र काश्मिरमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै एक बालिकालाई जन्म दिएकी छिन् । बन्दुकधारीहरुले गोली हानेपछि सैनिक अस्पतालमा भर्ना भएकी ती महिलाले शनिबार अस्पतालमै बालिका जन्माएको भारतको सैनिक स्रोतले जनाएको छ ।

पाराम्जीत कउर नाम गरेकी ती महिला र उनकी छोरीको अवस्था अहिले राम्रो रहेको अधिकारीहरुले जानकारी दिएका छन् । गर्भवती ती महिलालाई पछाडपट्टी तल्लो भागमा गोली लागेको थियो । घाइते भएपछि उनलाई सेनाको हेलिकोप्टरमार्फत् तत्काल अस्पताल लगिएको थियो ।

सन्जुवान सैन्य कार्यालयमा भारतीय सुरक्षाकर्मी र लडाकूहरुकाबीचमा झडप हुँदा ती गर्भवती महिलालाई गोली लागेको थियो । ती महिलालाई अस्पतालमा तत्काल भर्ना गरेर बच्चा जन्माउनका लागि आवश्यक औषधि दिइएको थियो । बच्चा जन्मिएपछि मात्र उनको चोटको उपचार सुरु गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । सो घटनामा परी तीन जना लडाकू र दुई जना भारतीय सुरक्षाकर्मीहरु मारिएका भारतीय सैन्य स्रोतले थप जानकारी दिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top