कफुचे जोड्ने नयाँ पदयात्रा मार्ग खोल्दै टान

पोखरा, २६ पुस । संसारकै होचो स्थानमा रहेको दावी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउँदै नयाँ पदयात्रा मार्ग संचालनको तयारी अगाडि बढाइएको छ । पछिल्ला एक दुई वर्ष यता बढी चर्चामा आउन थालेको कास्कीको मादी गाउँ पालिका– १ मा समुन्द्र सतहबाट मात्र २४५० मिटरको उचाईमा यो ताल रहको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले उक्त तालको प्रवद्र्धका लागि नयाँ पदमार्ग खोल्न हालै एक खोज तथा अनुसन्धान अभियान समेत संचालन गरेको थियो । अन्नपूर्ण दोश्रो र लम्जुङ हिमाल विचबाट आउने हिमपहिरोबाट बनेको यो हिमतालले पर्यटनको अथाह संभावना बोकेका कारण खोज तथा अनुसन्धान अघि बढाइएको टान पश्चिमाञ्चल संघका अध्यक्ष दीपकराज अधिकारीले बताए ।

पोखरा लेखनाथ महानगरपालिकाको दीपबाट पदयात्रा सुरु गरी कास्कीकै अर्मला, आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस, हुगु हुँदै कफुचे पुग्ने यो मार्ग कम्तिमा एक हप्ता लामो हुने छ । पदयात्रा मार्गमा पर्ने गाउँ, पानीका श्रोत, भञ्ज्याङ लगायतलाई समेटेर नक्सा बनाउन लागि जीपीएस सहितको एक टोली समेत खटिएको थियो । केही महिना भित्र सो मार्गको नक्सा र ब्रोसर निर्माण गरी सो मार्ग संचालनको क्रम अगाडि बढाइने खोज टोलीका सहमागी एवं टान क्षेत्रीय संघ पोखराका पूर्व सचिव विनय आचार्यले जानकारी दिए ।

पदयात्रा मार्गको अधिकांश भाग अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्छ । गुरुङ संस्कृतिको अवलोकन, हरियाली जंगल, लामो हिमाली श्रृंखलाको दृष्य, कोटहरु, चरा अवलोकन, विभिन्न जंगली जनावरको अवलोकन गर्दै होचो स्थानमा हिमताल र त्यहाँ आउने हिमपहिरो हेर्न पाउनु यो मार्गको विशेषता भएको टान रजत महोत्सव एक्सप्लोर कमिटीका संयोजक नारायण सापकोटाले बताए ।

टान वेष्टर्न रिजनल एशोसिएशन पोखराले यो वर्ष मनाई रहेको रजत महोत्सवका अवसरमा एक्याप र मादी गाउँ पालिकाको सहयोग तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा पदमार्ग खोज कार्य सम्पन्न भएको कार्यक्रम संयोजक विश्वराज अधिकारीले बताए । केम्पिङ र होमस्टेमा आधारित यो पदयात्रा मार्गलाई १० दिनमा विस्तार गरी कास्कीको मादी गाउँ पालिकामा रहेको हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामुन पासबाट मनाङ जिल्ला निकाल्ने योजना रहेको व्यवसायीले बताएका छन् ।

#NewsSource: Ganthan.com

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित